सर्वाधिक चोखा र ग्रामीण बिम्बको प्रयोग गरी कविता लेख्ने भूपि शेरचन नेपाली कविताका क्षेत्रमा सदा कालका लागि सम्झिइरहने नाम हो । उनी आफ्ना कवितामा सरल भाषाको प्रयोग गर्छन् तर उनको कविता कथ्ने शैली पृथक् छ । उनी आम कविभन्दा फरक तरिकाले सोच्ने र त्यस्तै लेख्ने भएका कारण नेपाली कवितामा बाँचिरहेका छन् ।
साहित्यकार भूपि शेरचनको सामान्य चिनारी
साहित्यकार भूपि शेरचनको जन्म वि.सं. १९९२ पुस १० गते मुस्ताङ जिल्लाको टुकुचे गाउँमा सम्पन्न थकाली परिवारमा भएको थियो । उनको वास्तविक नाम भूपेन्द्रमान शेरचन भए पनि उनी नेपाली साहित्यमा भूपी शेरचनका नामले सुपरिचित छन् । उनी पिता हितमान शेरचन र माता पद्मकुमारी शेरचनका छोरा थिए । उनको परिवारका सबैजसो दाजुभाइ लाहुरे भए पनि उनले त्यतातिर मन लगाएनन् । उनले बी.ए.सम्मको औपचारिक शिक्षा आर्जन गरेका कारण नेपाली साहित्यमा आकर्षित भए ।
भूपि शेरचनले वि.सं.२००६ देखि नेपाली भाषामा कविता लेख्न आरम्भ गरेका थिए । उनका कविताहरूमा सर्वसाधारण जनताका दुःख, पीडा व्यक्त गर्नुका साथै निम्नवर्गप्रति सहानुभूति प्रकट गरिएको पाइन्छ । भूपि शेरचन स्पष्टवादी र निर्भीक व्यक्तित्वका धनी थिए । उनले यो समाजमा विद्यमान विकृति, विसङ्गति तथा समाज र राष्ट्रका कमीकमजोरीप्रति चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् । उनका कविताहरूमा नेपाली प्रकृतिसँग सम्बन्धित विभिन्न पक्षको चित्रणका साथै राष्ट्रप्रेमको भावना पनि झल्किएको पाइन्छ । नेपाली कविताका क्षेत्रमा कवि गोपालप्रसाद रिमालले प्रतिपादन गरेको गद्य कविता शैलीको विकास तथा विस्तारमा उल्लेख्य योगदान गर्न सफल शेरचन रिमालपछिका सबैभन्दा चर्चित र लोकप्रिय कवि हुन् ।
भूपि शेरचनको जीवनकालमा ‘निर्भर’, ‘नयाँ झ्याउरे, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्ता तीनवटा कविताकृति र ‘परिवर्तन’ शीर्षकमा एउटा नाटक प्रकाशित भएको पाइन्छ भने उनको देहान्तपश्चात् ‘भूपि शेरचनका कविताहरू’ नामका कविताकृति प्रकाशित भएको छ । नेपाली साहित्यमा अत्यधिक चर्चाको शिखरमा पुग्न सफल साहित्यकारहरूमा एक शेरचनले नाट्य विधामा पनि कलम चलाए तापनि उनी मूलतः कवि प्रतिभाकै रूपमा प्रसिद्ध छन् ।
नेपाली साहित्यको योगदान गरेवापत उनलाइै नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसमेत बनाइको थियो । उनी वि.सं. २०२६ मा ‘साझा पुरस्कार’ र वि.सं. २०४२ मा ‘गोरखा दक्षिण बाहु’बाट सम्मानितसमेत भएका थिए । वि.सं. २०४६ जेठ २ गते काठमाडौँमा उनको असामयिक मृत्यु भए तापनि नेपाली साहित्यलाई समृद्ध बनाउन गरेको योगदानका कारण उनी नेपाली साहित्य र साहित्यकारहरुकामाझ सदा अमर रहेका छन् ।
‘मेरो चोक’ कविताको पूर्ण पाठ
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ ।
तर यहाँ यी दुवैथरी उदास छन् ।
दुवैथरी निराश छन् ।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ ।
त्यसैले यो चोकमा
देवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन् ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
– भूपि शेरचन (‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बाट)
‘मेरो चोक’ कविताको सान्दर्भिकता
कवि भूपि शेरचनको ‘मेरो चोक’ कविता नेपाली जीवनशैली र मानसिकतामाथि व्यङ्ग्य प्रहार गरिएको कविता हो । यसले हाम्रा चोक र गल्लीहरु कुरुप भए पनि त्यसको सुन्दर चित्रण गरेको छ । हामी मानिसहरुलाई देवताले बनाएको विश्वास गर्छौं तर कविले त्यसलाई फरक तरिकाले सोचेका छन् । उनी हाम्रो चोकमा मानिसले बनाएका देवता र देवताले बनाएको मानिसको निवास भएको कुरा गर्छन् । उनी मानिस र देवता दुवैथरीलाई उदास देख्छन् । उनीहरुले खुसी हुन नजानेको कुरा गर्छन् ।
कविले यो कवितामा मेरो चोकमा सबथोक छ भनेका छन्, तर त्यहाँ केवल रोग, भोक र शोक भएको विचार राख्छन् । हर्ष र खुसीमाथि रोक लागेको कुरा गर्छन् । त्यसो भए समाजमा के बाँकी रह्यो त ? मान्छेहरु उदास हुनु, उनीहरु सदाकाल दुःखमा हुनु, रोक, भोक र शोकले ग्रस्त हुनु नै हाम्रो नियति हो भने हामीले के पाएका छौँ त ? यो प्रश्न कविले नजानिँदो पाराले कवितामा उठाएका छन् ।
यो कविता वि.सं. २०२६ मा प्रकाशित उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहमा सङ्कलित कविता भए पनि आजसम्म हाम्रा चोकहरु उस्तै छन् । त्यहाँ बस्ने मानिसहरु उस्तै छन् । चोकका मन्दिरहरु सुनसान छन् । घरघरमा निराशा छ । यसर्थ आजसम्म पनि यो कविताको सान्दर्भिकता सकिएको छैन । कवि भूपिलाई यति सुन्दर कविता लेखेकोमा शतशत नमन गर्दै यो छोटो आलेख टुङ्ग्याउँछु ।





