भरतपुर, २८ कात्तिक ।
विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को चौधौँ शृङ्खला श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेत भरतपुर – ५ मा गरिएको छ ।
शुक्रबार गरिएको कार्यक्रममा विद्यार्थीहरु उत्साहित भएर सहभागी भएका थिए । शिक्षिका बेलकुमारी पौडेलले अमर न्यौपानेको `सेतो धरती´ उपन्यासको समीक्षात्मक टिप्पणी राख्दै विद्यार्थीलाई यस्तै किसिमले प्रस्तुति राख्न आग्रह गरिन् । त्यसपछि विद्यार्थीहरु पालो कुरेर बसे । सुरुवातमा कक्षा ६ मा पढ्ने जेनिसा पौडेलले महाकवि लक्ष्मीप्रसाद देवकोटा गीतिकाव्य `मुनामदन´को टिप्पणी राखिन् ।
त्यसपछि विमोचन अधिकारीले `भानुभक्तको जीवन चरित्र´, दीलिप दास चौधरीले विजय मल्लको `कोही किन बर्बाद होस्´, मनसुन अधिकारीले लीलबहादुर क्षेत्रीको `बसाइँ´, शोभाकुमारी शाहले `कमिलाको डाक्टर´ बालकथासङ्ग्रह, कोसिस काफ्लेले `ठूलो मान्छे´, दीपिका दासले `वनदेवी´ कवितासङ्ग्रह, निलम शाहीले `बिछोड´, चिराक दराइले विश्वेश्वरप्रसाद कोइरालाको `दोषी चस्मा´, सुजन श्रेष्ठले stay free stay happy, पल्लवी प्रधानले `मावलीको यात्रा´ र उज्ज्वला ढकालले माधवप्रसाद घिमिरेको `राजेश्वरी´ कृतिको टिप्पणी प्रस्तुत गरे ।
शिक्षक शकुन्तला पोख्रेलले झमककुमारी घिमिरेको `जीवन काँडा कि फूल´ कृतिको चर्चा गर्दै हाम्रो जीवन पनि काँडा र फूल जस्तै रहस्यमय भएको बताइन् । विद्यालयका प्रधानाध्यापक करुणा पण्डितले किताबको ज्ञानले मानिसलाई असल बन्न प्रेरित गर्ने बताए । प्रधानाध्यापक पण्डितले विद्यालयका सबै कक्षाकोठामा बुक कर्नर बनाएर सबै किसिमका किताब राखेर विद्यार्थीलाई अतिरिक्त किताबको पहुँचमा राखिएको बताए । पठन संस्कृति अभियन्ता एवम् कार्यक्रमका प्रमुख अतिथि लेखराम सापकोटाले पढ्ने बानीले विद्यार्थीको सबै गतिविधि सहज हुने बताए ।
एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज र अङ्कुरम् एकेडेमीको सहयोगमा सम्पूर्ण किताब नारायणगढले चितवन र नवलपरासीका विद्यालयमा `म पनि पढ्छु´ कार्यक्रम गरिरहेको छ । यो कार्यक्रम मंसिरको पहिलो साता जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट र ब्लुबर्ड अङ्ग्रेजी स्कुल भरतपुर – २३ मा हुँदैछ ।




