भरतपुर, २ भदौ ।
अमलाचौर – चितवन – नवलपुर सम्पर्क समाजले हिन्दु नारीहरूको महत्वपूर्ण पर्व हरितालीका तिजको अवसरमा तिज विशेष भेटघाट तथा दरखाने कार्यक्रम आयोजना गरेको छ । सगुन पार्टी प्यालेस, भरतपुर–१०, महाकालेश्वर मन्दिर नजिक आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी सदस्यहरू उपस्थित थिए ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लक्ष्मीकान्त आचार्यले गर्नुभएको थियो भने सञ्चालन बिष्णु ढकाल शर्माले गर्नुभयो । सल्लाहकार इन्दिरा शर्माले स्वागत मन्तव्य राख्दै समाजको उद्देश्य र गतिविधिहरूबारे जानकारी दिनुभयो । उक्त अवसरमा राधादेवी शर्मा, लीलाकुमारी शर्मा पौडेल, ईश्वरी पौडेल र लक्ष्मी शर्माको समूहले स्वागत गीत प्रस्तुत गर्नुभयो ।
प्रमुख अतिथिको रूपमा उपस्थित हरिकला अधिकारीले समाजको प्रयासलाई सराहना गर्दै सामाजिक एकताको महत्त्व रहेको बताउनुभयो । कार्यक्रमलाई हरि पौडेल, नव बाग्लुङ सुनचाँदी गहना पसल, डिलाईट एब्रोड स्टडिज प्रालि, सञ्जय आचार्यसहित अन्य दाताहरूले पनि आर्थिक सहयोग गर्नुभएको थियो ।
समाजका सचिव प्रकाश शर्माले संस्थाको उद्देश्य, स्थापना, सदस्यता र भविष्यका योजनाहरूबारे जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले अमलाचौरबाट चितवन र नवलपुर आएका व्यक्तिहरूबीच सम्पर्क, सहयोग र सहकार्य बढाउने, शिक्षा, स्वास्थ्य, धर्म र संस्कृतिको विकास गर्ने लक्ष्य राखेको छ । संस्था २०८१ फागुन १५ गते दर्ता भई १४२ जना सदस्य रहेको र बैंक खाता समेत खोलिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा कृपा शर्माले नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराउनु भएको थियो भने ७० वर्षभन्दा माथिका १५ जना अभिभावकहरूलाई सम्मानित गरिएको थियो । साथै डा. भूमिका आचार्यलाई युवा प्रतिभाको रूपमा सम्मान गरियो ।
अध्यक्ष आचार्यले समाजले सबैको सुखदुःखमा साथ दिने, रमाइला कार्यक्रमहरू गर्दै जाने र आपसी सम्बन्ध कायम राख्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रमको समापनमा महिलाहरूले अमलाचौरको मौलिकता झल्काउने तिज गीत गाएर नाचगान गरे ।




