नवीनको `दहाड´ कथासङ्ग्रहमाथि गैंडाकोटमा विमर्श

गैंडाकोट, ८ असार ।
कथाकार नवीन अभिलाषीको कथासङ्ग्रह `दहाड´को देशाटन कार्यक्रमअन्तर्गत गैंडाकोटमा साहित्यिक विमर्श सम्पन्न भएको छ । बिर्तामोड, विराटनगर र हेटौंडामा कार्यक्रम सकेर कथाकार नवीन सोमबार चितवन आएका हुन् ।

अक्षर समूह चितवनको आयोजनामा द नारायणी रिसोर्ट, गैंडाकोटमा आयोजित कार्यक्रममा टिप्पणीकार कृष्ण विश्वकर्मा सतिसाल र सरिता तिवारीले नेपाली कथा लेखन परम्परामाथि वैचारिक दृष्टि प्रस्तुत गर्दै दहाडका कथाहरूको समीक्षात्मक टिप्पणी गरेका थिए ।

वक्ताहरूले दहाडलाई निरंकुश पञ्चायतकालीन समाजमा दलित तथा उत्पीडित समुदायले भोग्नुपरेका शोषण, दमन, अन्याय र बहिष्कारका कारुणिक अनुभवलाई कलात्मक ढङ्गले अभिव्यक्त गरिएको सशक्त कथासङ्ग्रहका रूपमा व्याख्या गरे । पात्रहरूका मौन विद्रोहले पिँधमा दबिएका आवाजलाई मुखर रूपमा प्रस्तुत गरेको भन्दै कथासङ्ग्रह भाषा, शिल्प, कला र विचारका दृष्टिले सबै कथाप्रेमीले पढ्नुपर्ने कृति भएको उनीहरूको भनाइ थियो ।

टिप्पणीकार सरिता तिवारीले निकै लामो समयपछि कथा पढ्दा गहिरो तृप्ति दिने कृतिको अनुभूति भएको बताइन् । कथापीठ, कथाकथन, शब्दशिल्प र विचार–चेतनाका दृष्टिले दहाडमा समेटिएका १२ वटा कथाहरू उत्कृष्ट रहेको उनलेे धारणा राखिन् ।

टिप्पणीकार सतिसालका अनुसार दहाड पञ्चायतकालीन पृष्ठभूमिमा लेखिएको पीडाको कथा हो । `दहाडका कथाहरूले सामाजिक अन्याय, उत्पीडन र मानवीय संवेदनालाई गहिरोसँग उजागर गरेका छन्´, सतिसालले भने । सहिद परिवारको पृष्ठभूमिबाट आएका लेखक नवीन अभिलाषीले जीवनका विविध संघर्ष र सामाजिक उत्पीडनका अनुभवलाई कथामार्फत अभिव्यक्त गरेका छन् । व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोडेर प्रस्तुत गरिएकाले दहाड समय, समाज र संघर्षको सशक्त दस्तावेजका रूपमा स्थापित छ ।

अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सचिव विनोदबाबु रिजालले सञ्चालन गरेका थिए । सदस्य विद्या भण्डारी चिरागले स्वागत मन्तव्य राखेकी थिइन् । साहित्यकार उदय अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै दहाड सहित समग्र कथा लेखन परम्पराबारे चर्चा गरेका थिए ।
साङ्ग्रीला बुक्सबाट प्रकाशित दहाड कथाकार नवीन अभिलाषीको तेस्रो कृति हो । यसअघि उनका दुई वटा कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट