भरतपुर, १० असार ।
सडक दुर्घटनामा निधन भएका कराते खेलाडी तथा प्रशिक्षक सुजन मगरको सम्झनामा भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरिएको छ । नेपाल सितोरियो कराते संघ चितवनको आयोजनामा मंगलबार साँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य कृष्णबहादुर नेपाल (सुजन), नेपाल सितोरियो कराते संघ बागमती प्रदेशका अध्यक्ष गगन लामा, नेपाल सितोरियो कराते संघ चितवनका अध्यक्ष चित्रबहादुर रानामगरलगायत संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै स्वर्गीय मगरप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरूले सुजनको असामयिक निधनले चितवनसहित देशकै कराते क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका थिए ।
२३ वर्षीय सुजन मगरको गत शनिबार राति भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा भएको स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । उनी राष्ट्रिय स्तरका कराते खेलाडी हुनुका साथै सक्रिय प्रशिक्षक पनि थिए । उनले भरतपुर डोजो, डन एकेडेमी तथा कलश मन्टेश्वरीमा कराते प्रशिक्षण गराउँदै आएका थिए ।
कराते खेलको विकास र नयाँ पुस्ताका खेलाडी उत्पादनमा उनको योगदान उल्लेखनीय रहेको भन्दै सहभागीहरूले उनको स्मृति सधैँ जीवित रहने बताएका थिए ।





