माडी, १० कात्तिक ।
चितवनको माडी नगरपालिकाले शिक्षा नियमावलीअनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन गरेसँगै नगर क्षेत्रका विद्यालयमा नयाँ नेतृत्व चयन भएको छ । यस क्रममा एकै दम्पतीले माडीका दुई अग्रणी माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएका छन् ।
नगरपालिकाको निर्णयअनुसार दिवाकर स्मृति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इन्दिरा तिवारी र सोमेश्वर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा उहाँका श्रीमान् युवराज लामिछाने नियुक्त हुनुभएको छ । माडीका दुई प्रतिष्ठित विद्यालयको नेतृत्व एउटै दम्पतीले सम्हाल्ने भएपछि यसलाई स्थानीय शैक्षिक क्षेत्रमा चासोका साथ हेरिएको छ ।
माडीमा सबैभन्दा बढी विद्यार्थी संख्या रहेको दिवाकर स्मृति माविको प्रधानाध्यापकमा नियुक्त तिवारीले यसअघि सोमेश्वर माविको नेतृत्व सम्हाल्नुभएको थियो । उहाँकै नेतृत्वमा विद्यालयको स्वर्ण महोत्सवसमेत सम्पन्न भएको थियो । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील तिवारीसँगको अनुभवले दिवाकर स्मृति माविको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सोमेश्वर माविको प्रधानाध्यापकमा नियुक्त लामिछानेले यसअघि सोही विद्यालयमा सहायक प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो । उहाँले माडी क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । विद्यालय र क्याम्पस दुवै तहको प्रशासनिक अनुभव हासिल गर्नुभएका लामिछानेको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर थप सुधार हुने अपेक्षा गरिएको छ ।
यसैबीच, माडीको अर्को सामुदायिक विद्यालय जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी रामबहादुर जिसीले सम्हाल्नुभएको छ । उहाँले विगत १० वर्षदेखि विद्यालयको सुधारका लागि काम गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा विद्यालयमा भएका सुधारका कारण जनकल्याण मावि माडीको नमुना विद्यालयका रूपमा स्थापित भएको बताइएको छ ।
नगरपालिकाले श्री आधारभूत विद्यालय सिम्रहनीलगायत अन्य आधारभूत विद्यालयमा पनि आवश्यकता र निर्धारित मापदण्डअनुसार प्रधानाध्यापकको जिम्मेवारी तोकेको छ ।
नगरपालिकाको यस व्यवस्थापनबाट विद्यालयको प्रशासनिक प्रणाली व्यवस्थित हुनुका साथै शैक्षिक गुणस्तर, अनुशासन र शिक्षण सिकाइ प्रक्रियामा सुधार आउने अपेक्षा गरिएको छ ।




