मकवानपुर, ६ कात्तिक ।
सिन्धुलीमा खोलामा डुबेर आमाछोरीको मृत्यु भएको छ । चितवनमा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ भने उनकी आमा र दिदी अझै बेपत्ता छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार सुनकोशी गाउँपालिका–१, आँपघारीस्थित रोशी खोलामा नुहाउने क्रममा डुबेर ३७ वर्षीया सत्यदेवी कोइराला र उनकी ९ वर्षीया छोरी पूजा खड्काको मृत्यु भएको हो ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ घर भएकी कोइराला माइतीघरमा बस्दै आएकी थिइन् । खोजतलासका क्रममा दुवै जनालाई पानीमा डुबेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरूको शव पोस्टमार्टमका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको छ ।
यसैगरी, चितवनमा खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक प्रसिद्ध पौडेलको शव फेला परेको छ ।
प्रहरीका अनुसार असोज २८ गते भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि खुट्टा धुने क्रममा खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर–१२, मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा, उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेल र ६ वर्षीय छोरा प्रसिद्ध पौडेल खोलामा डुबेका थिए ।
खोजतलासका क्रममा बुधबार साँझ ५ बजे नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजमा प्रसिद्धको शव फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता आमा सिर्जना र छोरी प्रसिद्धीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




