दसैँमा खानपान र दुर्घटनाबाट जोगिन सुझाव

चितवन, ४ कात्तिक ।
दसैँको उल्लाससँगै चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेको छ । दसैँ बिदाका क्रममा अस्पतालको आकस्मिक कक्षबाट दैनिक करिब १५० जनाले उपचार सेवा लिइरहेका छन् ।

अस्पतालका अनुसार आकस्मिक कक्षमा उपचारका लागि आउनेमध्ये सवारी दुर्घटनामा परेका, हृदयाघात भएका, स्ट्रोकका बिरामी तथा खानपानका कारण स्वास्थ्य समस्या देखिएकाहरूको सङ्ख्या उल्लेख्य छ । चाडपर्वमा खानपान र जीवनशैलीमा ध्यान नदिँदा स्वास्थ्य समस्या निम्तिने भएकाले चिकित्सकले विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

सिएमसीको कलेजो विभागका प्राध्यापक डा. दयाराम लम्सालले चाडपर्वका बेला खानपानमा असावधानी गर्दा धेरै मानिस उपचारका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउने गरेको बताए । आकस्मिक कक्षमा करिब तीन दशकको अनुभव सुनाउँदै उनले चाडपर्वमा खानपान र दैनिक व्यवहारमा संयम अपनाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार दसैँमा चिल्लो तथा मासुजन्य खानेकुरा बढी खाने, मदिरा सेवन गर्ने, धूमपान गर्ने र राति अबेरसम्म जाग्राम बस्ने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । यस्ता गतिविधिले विशेषगरी दीर्घरोग भएका व्यक्तिमा हृदयाघात र स्ट्रोकको जोखिम बढाउन सक्छ ।

चाडपर्वका बेला खाना अपच हुने, खाद्य विषाक्तता, हड्डी अड्किने, च्याउ खाँदा विषाक्तता हुने तथा आगोले पोल्ने र छतबाट लड्नेजस्ता घटना पनि देखिने गरेका छन् । मदिरा सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने र झैझगडाका कारण चोटपटक लाग्ने समस्या पनि हुने गरेको चिकित्सकको भनाइ छ ।

दीर्घरोगीले औषधि छुटाउन नहुने
चाडपर्वको व्यस्ततामा दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन र स्वास्थ्यसम्बन्धी सावधानी बिर्सन नहुने चिकित्सकले बताएका छन् । मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुका साथै चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।

चाडपर्वमा स्वादका लागि आवश्यकताभन्दा बढी खाने, मदिरा सेवन गर्ने र पर्याप्त निद्रा नलिने बानीले स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने भएकाले सन्तुलित भोजन, पर्याप्त आराम र नियमित दिनचर्यामा ध्यान दिनुपर्ने सुझाव चिकित्सकको छ ।

त्यस्तै, मदिरा सेवन गरेर सवारी नचलाउन र विवाद तथा झैझगडाबाट टाढा रहन पनि चिकित्सकले आग्रह गरेका छन् । सामान्य देखिने स्वास्थ्य समस्यालाई बेवास्ता नगर्न र गम्भीर लक्षण देखिए तत्काल अस्पताल पुग्नुपर्ने उनीहरूको सुझाव छ ।

चाडपर्वमा स्वास्थ्यप्रति सचेत रहन सके सम्भावित दुर्घटना र खानपानजन्य समस्याबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट