देवघाट–मौलाकालिका जोड्न दुई किलोमिटर लामो केबलकार बनाइने

गैंडाकोट, ३ कात्तिक ।
चितवनको देवघाटदेखि नवलपरासीको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । आइएमई ग्रुपले करिब दुई किलोमिटर लामो केबलकार निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार चितवन र नवलपुरका पत्रकारहरूसँगको छलफलमा देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजना अघि बढाइएको जानकारी दिएका हुन् ।

ढकालका अनुसार देवघाट र मौलाकालिका दुवै धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हुन् । यी दुवै स्थानमा पुग्ने धार्मिक पर्यटकलाई एकअर्को गन्तव्यमा जान सहज बनाउने र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केबलकार निर्माण गर्न लागिएको हो ।

‘देवघाट र मौलाकालिका दुवै प्रसिद्ध धार्मिक क्षेत्र हुन् । धार्मिक पर्यटक एउटा गन्तव्यमा जाँदा अर्को गन्तव्यमा पनि पुग्न सजिलो होस् भनेर जोड्न खोजिएको हो,’ ढकालले भने ।

प्रस्तावित परियोजनाअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाट र नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका क्षेत्रलाई केबलकारबाट जोडिनेछ । दुवै स्थानमा छुट्टाछुट्टै स्टेसन निर्माण गर्ने योजना छ । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढिरहेको छ ।

केबलकार निर्माण सम्पन्न भएपछि देवघाट आउने भक्तजनलाई मौलाकालिका मन्दिर पुग्न र मौलाकालिका दर्शन गर्न आउनेलाई देवघाटसम्म जान सहज हुनेछ । यसबाट चितवन र नवलपुरका धार्मिक गन्तव्यबीच पर्यटकीय आवागमन बढ्नुका साथै स्थानीय होटल, यातायात, व्यापार तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यसअघि नै सञ्चालनमा छ मौलाकालिका केबलकार

आइएमई ग्रुपले गैँडाकोटबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ । करिब १.२ किलोमिटर लामो उक्त केबलकार सञ्चालनमा आएपछि मन्दिर पुग्ने भक्तजनका लागि यात्रा सहज भएको छ ।

ग्रुपले अब देवघाटतर्फबाट समेत केबलकार निर्माण गर्ने योजना अघि बढाएसँगै मौलाकालिका र देवघाटलाई एउटै धार्मिक पर्यटन मार्गमा जोड्ने सम्भावना बढेको छ । दुवै क्षेत्रको धार्मिक महत्त्व र पर्यटकीय आकर्षणलाई एकीकृत गर्न सके यस क्षेत्रको पर्यटन विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।

आइएमई ग्रुप मौलाकाली केबलकार र इला होटल एन्ड रिसोर्टको सञ्चालक कम्पनी हो । नयाँ परियोजनाको कुल लागत भने यकिन भइसकेको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट