दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न मन्त्रालयको निर्देशन

काठमाडौं, ३१ असोज ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गर्दै आवश्यक व्यवस्थापन मिलाउन आग्रह गरेको हो ।

मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न भनेको छ । साथै, आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार सेवाजस्ता अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन हुने सुनिश्चित गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, आकस्मिक अवस्थामा तत्काल सेवा प्रदान गर्न आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्न मन्त्रालयले आग्रह गरेको छ । बिदाका अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिनसमेत मन्त्रालयले भनेको छ ।

सेवा प्रवाहका क्रममा देखिन सक्ने समस्या तथा गुनासोको तत्काल सम्बोधन र समन्वयका लागि प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ । सम्बन्धित अस्पतालले सम्पर्क व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा अनिवार्य रूपमा पठाउनुपर्नेछ ।

मन्त्रालयले उल्लिखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै दसैँ बिदाभर नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट