‘छालबाटो’ पत्रकार रमेश भुसालद्वारा लिखित यात्रा वृत्तान्त हो, जुन १३ वटा अध्यायमा (सन्दर्भ सामग्री, आभार र तस्बिरहरूसमेत समावेश गरेर) विभाजित छ । यो पुस्तकमा कैलाशदेखि कर्णालीसम्म गरिएको यात्राको वर्णन गरिएको छ ।
पहिलो अध्याय ‘खुसीको उपत्यका’को सुरुवाती पृष्ठमा सुर्खेतमा कर्णालीको किनारमा मेघ आले (मेघ दाइ) ले पत्रकार रमेश भुसाललाई कर्णाली सुन्दर लाग्ने र कर्णालीको शिरसम्म पुग्ने योजना बनाइरहेको कुरा गर्छन्, जसले गर्दा यो यात्राको जग बस्छ र यो सुन्दर किताबको जन्म हुन्छ । यो प्रसङ्ग पढिरहँदा मैले/हामीले जीवनमा बनाएका, थुप्रै पूरा भएका र केही अधुरा रहेका घुम्न जाने योजनाहरू सम्झिएँ, जसले गर्दा यो किताब पढिरहँदा कतै न कतै आफूलाई पनि पाएँ । त्यसैले गर्दा पनि सोही अध्यायमा रसुवागढी नाकामा गरिएको चेकिङको प्रसङ्ग पढ्दै गर्दा त्यो अवस्थाको त्रास र तनाव शब्दमा व्यक्त गर्न नसकिने गरी अनुभूत भइरहेको थियो ।
यात्रामा अगाडि बढ्दै जाँदा केरुङमा भेटिएका भाइहरूको कथालाई बुन्दै विदेशी भूमिमा नेपालीहरूको कथाव्यथाको अन्वेषण गर्दै लागेका छन् । सफल अन्वेषण गर्दागर्दै पनि पेमाले ‘भोटे कुकुर’को डर देखाउँदा र स्थानीयहरू त्यति नखुल्दा उनलाई कति थकथकी लागेको थियो होला भन्ने पनि लागेको थियो । चीनले तिब्बतमा गरेको विस्तार र त्यससँगै निम्तिएको सांस्कृतिक क्रान्तिका कारण आफ्नै देशबाट निर्वासित भएका तिब्बतीहरूको कथा पनि त्यही घटनासँग जोडिएका पात्र मिङ्मारमार्फत बताइनु एउटा महत्त्वपूर्ण उठान हो ।
अर्को रोचक लागेको प्रसङ्ग चाहिँ विभिन्न धर्म र संस्कृतिअनुसार कर्णालीको मूल/शिर मानसरोवर ताल अथवा राक्षस ताल भएको विश्वास रहेछ । तर माप्चा खम्बाबमा नमिसिएको र कर्णाली नदीको मूल/शिर राक्षस ताल नभएको अर्को महत्त्वपूर्ण कुरा अन्वेषण गर्छन् । पृष्ठ ८९ मा, “हामी यात्रामा निस्कनुअघि पश्चिम नेपालमा निर्मला पन्तलाई बलात्कार गरेर मारिएको घटनाले पूरै देश आन्दोलित थियो । हामी त्यस घटनाको पछिल्लो अवस्थाबारे बेखबर थियौँ ।” भनेर उल्लेख गरिएको छ। तर अझै पनि हामी बेखबर नै छौँ। यो कस्तो विडम्बना !
विडम्बनाको सिलसिला यत्तिमै मात्र कहाँ टुङ्गिन्छ र ? कर्णालीवासीहरू कर्णालीको पानी बगेर मात्र खेर गएको, हाम्रो उपयोगमा नआएको यो पानी के काम भनेर गुनासो गरिरहेका देखिन्छन् । तर पानीले पनि गुनासो गर्दो हो त, आफ्नो बग्ने धर्म पूरा गर्न नपाउने कस्तो देशमा बगिरहेको छु भन्दो हो । नदी किनारमा कैयौँ सभ्यता फस्टाएका उदाहरण हाम्रो इतिहासमा छन्, तर नदीसँग जोडिएका कर्णालीवासीहरूको जीवन दुःखको चक्रमा घुमिरहेको देखिन्छ । आखिर यो चक्रको अन्त्य कहिले हुने हो ? अभिमन्यु झैँ चक्रव्यूहमा कतिञ्जेल फसिरहने हुन् कर्णालीवासी भन्ने प्रश्न अझै यथावत् छ । सपनाको खेती गरेर कसरी नेताहरूले जनतालाई झुलाउँछन् र वास्तवमा नेताहरू अत्यन्तै बाठा छन् भन्ने निष्कर्षमा लेखक पुग्नुभएकोमा मेरो पनि सहमति छ ।
यात्राका क्रममा लेखकले आफ्नो स्वगन्थन, मनमनै भनेका कुराहरू, स्थानविशेषका मान्यता, मिथक र लोककथाहरूलाई समायोजन गर्दै लान्छन्, जसले ‘बिट्विन द लाइन्स’ भनेझैँ यात्राका क्रममा नयाँ दृष्टिकोण थप्ने काम गरेको छ । लेखकका स्वगन्थन र मनमनै भनेका कुराहरू पढ्दै गर्दा कतै मीठो ह्युमर सिर्जना हुन्छ, कतै निराश भइन्छ त कतै समाज र राज्यका कमीकमजोरीप्रति कसिएको व्यङ्ग्यले मर्ममै प्रहार गरेझैँ अनुभव हुन् छ ।
हिँडेर, गुडेर र बगेर गरिएको काठमाडौँदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रामा जीवन, प्रकृति, समाज, संस्कृति र पर्यटनजस्ता ? विविध विषयमा कहिले फरवार्ड प्याडल, कहिले ब्याक प्याडल, कहिले प्याडल अप, कहिले हाइ साइड र चाहेको बेला स्टप/होल्ड गर्दै लेखक भुसालले तरङ्ग, तृप्ति, त्रास र तनावले भरिपूर्ण रोमाञ्चक यात्रामा पाठकवर्गलाई सफल अवतरण गराएका छन् ।





