सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेकामा चिन्ता

अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढ्दै गएको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ चितवन र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा मंगलबार भरतपुरमा सम्पन्न अभिव्यक्ति स्वतन्त्रताको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले आफ्नो अभिव्यक्तिले अरूको मानमर्दन हुन सक्ने विषयमा सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

“अभिव्यक्ति स्वतन्त्रताकै विषयलाई लिएर सधैँ महासंघ र सरकारबीच मतभेद हुने गरेको छ,” उहाँले भन्नुभयो, “सरकारी निकाय र महासंघ मिलेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्छ ।”

झुटा समाचार नियन्त्रणका लागि नेपाल प्रेस काउन्सिललाई सक्रिय बनाउँदै महासंघले समेत सहयोग गरेर नियमन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले पत्रकारहरूलाई पत्रकार आचारसंहिताभित्र रहेर काम गर्न पनि सुझाव दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका विषयविज्ञ डा. घमराज लुइँटेलले नागरिक, अधिकारकर्मी, अभियन्ता, विषयविज्ञ, पत्रकार, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र प्रहरीलगायत सबै पक्षले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।

थारू पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीले कुनै नेताका विषयमा जायज टिप्पणी गर्दा समेत सामाजिक सञ्जालमा आफूहरूविरुद्ध आक्रामक प्रतिक्रिया आउने क्रम बढेको बताउनुभयो । “बोल्न र लेख्न डराउनुपर्ने अवस्था आयो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकै सिक्काका दुई पाटा भएको बताउनुभयो । पत्रकार प्रतिमा सिलवालले समाचार लेख्दा डराउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो भने अर्की पत्रकार सरिता पौडेलले गोपनीयता र संवेदनशीलतालाई ख्याल नगरी सामाजिक सञ्जालमा जथाभाबी अभिव्यक्ति दिन नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष फूलमाया रानाभाट, बहिरा संघ चितवनकी सदस्य दीपा अधिकारी र मानव अधिकार सञ्जाल चितवनका संयोजक दीपक लामिछानेलगायतले मन्तव्य राख्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट