लायन्सद्वारा गैँडाकोटका २०० घरधुरीलाई राहत वितरण

गैंडाकोट, २५ असोज ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का करिब २०० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ ।

लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसिआइएफ) बाट EMR29331-325R परियोजनामार्फत प्राप्त सहयोगबाट आइतबार बाढी प्रभावित परिवारलाई खाद्यान्न, सरसफाइ सामग्री, भान्साका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री वितरण गरिएको हो ।

गत असोज ११ गते नारायणी नदीमा आएको बाढिबाट प्रभावित नारायणी टोल विकास संस्थाअन्तर्गतका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको डिष्ट्रिक्टका डिजास्टर एन्ड रिलिफ कोअर्डिनेटर लायन शिवप्रसाद पण्डितले जानकारी दिनुभयो ।

राहत सामग्रीमा पानी शुद्धीकरणका लागि पीयूष, महिलाका लागि स्यानिटरी प्याड, सरसफाइका लागि फिनेल, खाना पकाउने डेक्ची, डाडु, पन्यु, कचौरा, गिलास, बाल्टी र त्रिपाल वितरण गरिएको थियो । त्यस्तै, कालो म्याट, सिरक, डसना, तन्ना र सिरानीसहित चामल, नुन, तेल, मसला तथा सोयाबिन पनि उपलब्ध गराइएको थियो ।

राहत वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले दसैँको मुखमा बाढी प्रभावित नागरिकलाई सहयोग गरेकोमा लायन्सको प्रशंसा गर्नुभयो । विपद्का समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनु मानवीय सेवाको उदाहरण भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यले पीडितलाई ठूलो राहत पुग्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, निवर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडा, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने र रामप्रसाद भट्टलगायतको उपस्थिति थियो ।

त्यसैगरी, डिष्ट्रिक्ट सचिव पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष कृष्ण पाण्डे, मझुवा सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष, नारायणी टोल विकास संस्थाका अध्यक्ष प्रदीप तामाङ तथा विभिन्न लायन्स क्लबका प्रतिनिधि र सदस्यहरूको सहभागिता थियो ।

डिष्ट्रिक्ट ३२५ आरले यसअघि असोज २३ गते नवलपुरको लघोई क्षेत्रका बाढी प्रभावित २० घरधुरीलाई पनि राहत सामग्री वितरण गरेको थियो । नारायणी नदीको बाढीबाट प्रभावित विभिन्न क्षेत्रका नागरिकलाई लक्षित गरी राहत वितरण कार्यक्रम सञ्चालन भइरहेको डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले बताउनुभयो ।

बाढीका कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई खाद्यान्न, सरसफाइका सामग्री र घरायसी आवश्यकताका वस्तु उपलब्ध गराउँदा तत्काल राहत मिल्ने उहाँको भनाइ छ । लायन्सको यस मानवीय सेवामूलक कार्यले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै स्थानीय समुदायमा सहकार्य र सहयोगको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याएको स्थानीयले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट