वालिङ, २६ असोज ।
युवा स्रष्टा वसन्त खनालको पहिलो साहित्यिक कृति ‘वेध’ को लोकार्पणसँगै स्रष्टा सम्मान तथा ‘वेध सिर्जना उत्सव–२०८३’ सम्पन्न भएको छ ।
साकिरा प्रतिष्ठानद्वारा प्रकाशित तथा मिलन समीरद्वारा सम्पादित ‘वेध’ मा २६ वटा समसामयिक निर्बन्ध–आख्यान समावेश छन् । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठानको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा वालिङ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको हो ।
सूर्यप्रसाद खनालको अध्यक्षता तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा कृतिको लोकार्पणपछि डा. शङ्करप्रसाद गैरे र शान्ता थापाले कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । स्रष्टा खनालले निर्बन्धीय मन्तव्य राखेका थिए भने विभिन्न व्यक्तित्वले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा प्रा.डा. कुसुमाकर न्यौपाने, सहप्राध्यापकद्वय कृष्णप्रसाद पौडेल र डा. पुण्यप्रसाद शर्मा, शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीलगायत साहित्य, शिक्षा तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । स्याङ्जाका अग्रज स्रष्टा, साहित्यिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका अभियन्ता, युवा स्रष्टा शम्भु अर्याल तथा गुरुङ चलचित्रकर्मी ताराबहादुर गुरुङ पनि सम्मानित भएका थिए ।
वि.सं. २०४६ साउन ३० गते स्याङ्जाको वालिङ नगरपालिका–१४, गाएडाँडामा जन्मिएका खनाल हाल भीरकोट नगरपालिका–५, स्वरेक मैदानस्थित राजेन्द्र–भवानी माध्यमिक विद्यालयमा कार्यरत छन् । पृथ्वीनारायण क्याम्पस, पोखराबाट स्नातकोत्तर गरेका उनी नेपाली साहित्य सिर्जनामा सक्रिय छन् । उनी वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ का संस्थापक अभियन्तासमेत हुन् ।
‘वेध’ उनको पहिलो साहित्यिक कृति हो । निर्बन्ध–आख्यान तथा काव्य सिर्जनामा सक्रिय मिलन समीरको सम्पादनमा प्रकाशित कृतिले समसामयिक विषयवस्तुलाई निर्बन्ध–आख्यानमार्फत प्रस्तुत गरेको छ ।
कार्यक्रममा सागर खनालले स्वागत मन्तव्य राखेका थिए भने ताराबहादुर गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संयोजन अभियानका संस्थापक संयोजक तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।
‘वेध सिर्जना उत्सव–२०८३’ मा सिजन अर्याल, सिर्जना खनाल, दिलीप तिवारी, डोलराज डुम्रे ‘विकल्प’, लक्ष्मी काफ्ले, विष्णु पङ्गेनी पाण्डे, लीलाम्बर ढुंगाना, रिमबाबू राना, प्रेमबन्धु सुवेदी, गुरु ढकाल, शान्ता बास्तोला र टुकादेवी आचार्यलगायत स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।





