चितवन, २५ असोज ।
भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित श्री मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजेन्द्रबाबु ढकाल चयन भएका छन् । संस्थाको २८औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनबाट ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा इन्दिरा पराजुली अधिकारी, सचिवमा रामचन्द्र चालिसे र कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा प्रमिला अधिकारी पोखरेल, पूर्णचन्द्र अधिकारी, जानकी पौडेल सापकोटा, नेत्रप्रसाद पौडेल र लेखनाथ अधिकारी चयन भएका छन् । ढकाल संस्थाको आठौँ अध्यक्ष हुन् ।
अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रेमराज घिमिरे तथा सदस्यहरूमा शर्मिला लुइँटेल र धनकुमारी लामा तामाङलाई चयन गरेको छ । दुवै समितिको कार्यावधि चार वर्षको हुनेछ । यसअघि संस्थाको अध्यक्षको जिम्मेवारी निलमणि पाठकले सम्हाल्दै आएका थिए ।
वि.सं. २०५५ चैत १२ गते भरतपुर महानगरपालिका–७ मा ३३ जना समाजसेवी तथा बुद्धिजीवीको पहलमा स्थापना भएको यस संस्थाका संस्थापक अध्यक्ष दिलबहादुर पाठक हुन् । सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै आएको संस्थाले सुरुवाती चरणमा दुग्ध व्यवसाय, चोक्करको थोक बिक्री, पिठोको खरिद–बिक्री तथा किराना व्यवसाय सञ्चालन गरेको थियो । हाल संस्थाले बहुउद्देश्यीय प्रकृतिका विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको छ ।
संस्थामा हाल महिला ९४७ र पुरुष ४३८ गरी कुल एक हजार ३८५ जना सेयर सदस्य आबद्ध छन् ।
सदस्यहरूको आर्थिक समृद्धि, आपसी सहयोग, एकता र सामूहिक उन्नतिलाई मुख्य उद्देश्य बनाएको संस्थाले सहकारी भावनाअनुरूप आफ्ना गतिविधि अघि बढाउँदै आएको सचिव रामचन्द्र चालिसेले बताए । नयाँ नेतृत्वले संस्थाको संस्थागत विकास, सदस्यहरूको हित संरक्षण तथा आर्थिक र सामाजिक उन्नतिमा थप योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।





