बूढीगण्डकी बाढी : घर र पुल बगायो, तटीय बस्ती जोखिममा

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको बाढीले विभिन्न स्थानमा घर तथा पुल बगाउनुका साथै तटीय बस्ती र जलविद्युत् आयोजनाको निर्माणस्थलमा क्षति पुर्‍याएको छ।

बाढीले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुर्‍याएको हो। बाढीका कारण केही घर बगेका छन् भने कतिपय घरमा पानी पसेको छ। नदी किनारका अन्य घरसमेत जोखिममा परेका छन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार चुमनुब्री गाउँपालिकाको सिर्दिबासमाथिबाट पहिरो आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीले जगतको बगरमा रहेका ५ देखि ७ वटा घर बगाएको छ। मानवीय क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले वडा नं. ३ को घट्टेखोलाका घरसमेत बगाएको छ। सोही वडाको न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

त्यस्तै, सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल तथा धार्चे गाउँपालिका–५ को माछाखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ।

प्रहरीका अनुसार धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा छन्। माछाखोलाको तल्लो बस्तीका ५ देखि ७ वटा घर र त्यति नै संख्याका टहरामा बाढी पसेको छ।

चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङबीच पहिरो खसेर स्यार खोला थुनिएको र त्यसपछि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। चुम्चेतको उङ्गीलुङ खोलामा पहिरो खसेर नदी थुनिएको हुन सक्ने पनि बताइएको छ। यद्यपि, बाढी आउनुको यकिन कारण पुष्टि भएको छैन।

आइतबार बिहान करिब ४ बजेदेखि उङ्गीलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका थिए। स्थानीयका अनुसार नदीमा पानीको बहाव घट्ने र बढ्ने क्रम जारी छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढीगण्डकी नदीमा आएको बाढीलाई ध्यानमा राख्दै गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणले जोखिममा रहेका बासिन्दासम्म समयमै सूचना पुर्‍याउन, उनीहरूलाई सुरक्षित स्थानमा लैजान तथा आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

स्थानीय प्रशासन र प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान माइकिङ गरिरहेका छन्। बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट