भोटेकोशी बाढीमा विद्यार्थीको जीवनरक्षा गर्ने शिक्षिका आचार्यलाई ‘मीना दिदी पुरस्कार’

काठमाडौं, २५ असोज ।
यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका बेला विद्यार्थीहरूको जीवनरक्षाका लागि उनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको सम्मान गर्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिए ।

रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी आचार्यले २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीका क्रममा विद्यार्थीहरूको ज्यान जोगाउन उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् । विपद्का बेला उनले देखाएको साहस, जिम्मेवारीबोध र मानवीय संवेदनशीलतालाई पुरस्कार छनोटको प्रमुख आधार बनाइएको समितिले जनाएको छ ।

शिक्षकको दायित्व पठनपाठनमा मात्र सीमित नरही संकटका बेला विद्यार्थीहरूको जीवनरक्षा गर्नु पनि हो भन्ने उदाहरण आचार्यले प्रस्तुत गरेकी छन् ।

समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना महिला शिक्षकलाई प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

महिलाहरूका लागि औपचारिक शिक्षा प्राप्त गर्ने अवसर सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । उनले २०२३ सालदेखि शिक्षण पेसा सुरु गरी अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा २७ वर्ष अध्यापन गरेकी थिइन् ।

छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उनी घरघरमा पुगेर अभिभावकलाई छोरीहरूलाई पनि पढाउन प्रेरित गर्थिन् । पाल्पाको किसान माध्यमिक विद्यालयमा ‘मीना दिदी’का नामले परिचित उनको सम्मानमा भूतपूर्व विद्यार्थीहरूले उनी जीवित छँदै ‘मिना दिदी’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए । उनको निधन २०७८ माघ २१ गते भएको थियो ।

गत वर्ष पहिलोपटक प्रदान गरिएको ‘मीना दिदी पुरस्कार’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रमा शिक्षाको विस्तार, बालिका शिक्षा, महिला सशक्तीकरण, छाउपडी प्रथा न्यूनीकरण तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानका लागि उनलाई सम्मान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट