स्रष्टा मेनका चापागाईं काप्रीको ‘एउटा भाइरल भिडियो’ कथा पढ्दा एउटा सानो घटनाले प्रतिभाको पहिचान र जीवनमा ल्याउन सक्ने परिवर्तनलाई सरल ढङ्गले प्रस्तुत गरेको पाइन्छ । कथामा बाँसुरीको मधुर धुन, रहस्यमय प्रतीक्षा, पात्रप्रतिको जिज्ञासा र अन्त्यमा प्राप्त हुने सुखद सन्तुष्टि सुन्दर पक्ष हुन् । पछिल्लोपटक कवितामार्फत आफूलाई साहित्य लेखनमा सक्रिय बनाइरहेकी चापागाईंको कथा कायाकैरनमार्फत पाठकमाझ ल्याएका छौँ ।

एउटा भाइरल भिडियो – कथा 

आँखाको दैलो उघ्रिन नपाउँदै नेपथ्यबाट बाँसुरीको मिठो धुन सुनिन्थ्यो । प्रातःकालीन पवनसँग लय मिलाउँदै बग्ने त्यो धुन सुन्दा लाग्थ्यो, मलाई जगाउन स्वयं कृष्ण कन्हैया आएका हुन् ।

धेरै दिन बितिसक्दा पनि यो कस्तो लुकामारी थियो ! न मैले धुन निकाल्ने बाँसुरीवालालाई देखेकी थिएँ, न उसले मलाई। तर म भने त्यो धुनकी प्रेमिकाजस्तै भइसकेकी थिएँ । थाहै नपाई त्यसको मोहमा डुबिसकेकी थिएँ ।

हरेक बिहान धुन बज्थ्यो । म घरबाहिर निस्किन्थेँ । म बाहिर पुग्दा धुन बिलाइसकेको हुन्थ्यो । यो क्रम यति नियमित भइसकेको थियो कि कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो—कहिले होला त्यो धुनका सर्जकसँग मेरो साक्षात्कार ?

एक बिहान धुन बजेन । निद्रालु आँखासहित म झ्यालछेउ प्रतीक्षारत रहेँ । धेरै बेरपछि कताकताबाट उही धुन सुनियो । आहा ! उही मिठास, उही जादु !

म हतारिँदै बाहिर निस्किएँ ।

एउटा हातमा मैलो बोरा, शरीरमा फाटेका लुगा, छरपस्ट कपाल र थकित अनुहार। झिसमिसेमै मेरा नजर उससँग जुधे । ऊ अलि अप्ठ्यारो मानेझैँ एक हातले बोरा समाउँदै अर्को हातले बाँसुरी बजाइरहेको थियो ।

म केही क्षण स्तब्ध भएँ ।

यति मिठो प्रतिभा! अहिलेसम्म किन कसैको नजर परेको रहेनछ ?

अचानक मेरो ध्यान मोबाइलतिर गयो । मैले उसको भिडियो खिचेँ र ‘अद्भुत बाँसुरीको धुन’ शीर्षक राखेर टिकटकमा अपलोड गरिदिएँ ।

भिडियो रातारात भाइरल भयो । धेरैले उसको ठेगाना सोधे । मैले स्वयम्भूवरपरको क्षेत्र बताएँ ।

तर त्यसपछिका बिहानमा बाँसुरी बजेन ।

मेरा बिहानहरू अधुरा हुन थाले । मनमा अनेक प्रश्न उब्जिए । कतै मैले उसको एकान्त खोसेँ कि ? कतै मेरो एउटा भिडियोले उसको जीवनमा कुनै अप्ठ्यारो त निम्त्याएन? उसको अनुपस्थितिले मलाई भित्रभित्रै पिरोल्न थाल्यो ।

दिनहरू बित्दै गए ।

एक साँझ टेलिभिजन खोल्दा अचानक परिचित धुन कानमा ठोक्कियो ।

उही बाँसुरीको धुन !

उही बाँसुरीवाला !

तर यसपटक ऊ सडकको किनारमा थिएन । सफा लुगा लगाएको, आत्मविश्वासले भरिएको अनुहारसहित ऊ एउटा सांगीतिक कार्यक्रममा बाँसुरी बजाइरहेको थियो । दर्शकहरू ताली बजाइरहेका थिए ।

मेरा आँखा रसाए ।

टेलिभिजनको पर्दामा उद्घोषकको स्वर गुन्जियो, “सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमार्फत चिनिएका युवा प्रतिभा…”

त्यसपछि उद्घोषकले के भने, मैले सुनिनँ ।

आँसु पुछ्दै मनमनै भनेँ—

“धन्यवाद, सामाजिक सञ्जाल !”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट