काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा लेदो सहितको बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले आइतबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित हुन सक्ने गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो।
प्राधिकरणले सम्बन्धित निकाय तथा स्थानीय बासिन्दालाई जोखिममा रहेका व्यक्तिसम्म समयमै सूचना पुर्याउन र उनीहरूलाई सुरक्षित स्थानमा लैजान सहयोग गर्न अनुरोध गरेको छ।
त्यस्तै, आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमा सहयोग गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।





