भरतपुर, २६ असोज ।
भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले देवघाटस्थित आश्रममा आश्रित तीन सय जनालाई खाना खुवाएका छन् ।
विद्यालयको इन्ट्र्याक्ट क्लब र इको क्लबको आयोजनामा तनहुँको देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रममा आश्रित दुई सय विद्यार्थी तथा एक सय वृद्धवृद्धालाई खाना खुवाइएको ग्रीनल्याण्ड इन्ट्र्याक्ट क्लबका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए ।
विद्यार्थीमा सामाजिक सेवाप्रति रुचि जगाउन तथा सहयोग र सद्भावको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए । यस्ता गतिविधिले विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न र मानवीय सेवामा सहभागी हुन प्रेरित गर्ने विश्वास गरिएको उनले बताए ।
आश्रमका कोषाध्यक्ष केशव चैतन्य ब्रह्मचारीले ग्रीनल्याण्ड स्कुलले विद्यार्थीलाई शिक्षासँगै सामाजिक सेवा र मानवीय भावनाको विकासमा समेत प्राथमिकता दिएको भन्दै खुसी व्यक्त गरे ।
विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक सेवाको भावना विकास गर्नुका साथै समुदायप्रतिको उत्तरदायित्व बहन गर्न जिम्मेवार बनाउने बताइन् ।





