कोहलपुर, २८ असोज ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गरेको छ । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद अधिकारी र प्रतिष्ठानका अध्यक्ष डा. रिजालले दोसल्ला, माला, सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्दै स्रष्टाहरूलाई सम्मान गरेका थिए ।
कर्मयोगी बद्रीविक्रम थापाको सम्मानमा उहाँका सुपुत्र किरण थापाले प्रतिष्ठानमार्फत प्रदान गर्ने गरी स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष दुई विधामा प्रदान गरिन्छ । वि.सं. २०८२ को बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार नेपालगन्जका उर्दू साहित्यकार मुस्तफ़ा अहसन क़ुरैशीलाई र २०८३ को पुरस्कार प्युठानमा जन्मिएका बालसाहित्यकार तथा बालसाहित्य समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यलाई प्रदान गरिएको हो ।
यसैगरी, बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ कैलालीका कवि तथा सञ्चारकर्मी पुष्पराज जोशी र २०८३ को पुरस्कार बर्दियाकी कवि निरञ्जना चन्द ‘निरू’लाई प्रदान गरिएको छ । चारै जनालाई जनही २० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
सोही अवसरमा डा. रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ प्रमुख अतिथि अधिकारी, साहित्यकार नरेन्द्रजङ्ग पिटर, वागेश्वर बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रगतिशील लेखक सङ्घका सचिव डा. हरि तिमिल्सिना, कवि रिजाल र उहाँकी धर्मपत्नी कमला अधिकारीलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कृतिमाथि टिप्पणी गर्दै प्रमुख अतिथि प्रा.डा. अधिकारीले रिजालका कवितामा पूर्वीय काव्यशास्त्रका मूल्य–मान्यता र उत्कृष्ट पाश्चात्य कवितासँग तुलनीय विशेषता रहेको बताए । उनका अनुसार रिजालका कविताले बालक, युवा र प्रौढ सबै उमेर समूहका संवेदनालाई समेटेका छन् । मानवतावादी चिन्तन, नेपाली जनजीवनका यथार्थ चित्रण, ध्वनिगत सबलता र गहनता उनका कविताका बलिया पक्ष रहेको अधिकारीले उल्लेख गरे ।
कृतिको समीक्षा गर्दै पूर्व जिल्ला शिक्षा अधिकारी तथा साहित्यचिन्तक निलकण्ठ रेग्मीले कविता सङ्ग्रह मातृवन्दनाबाट सुरु भई जन्मभूमिप्रतिको श्रद्धामा टुङ्गिएको बताए । उनले पूर्वीय काव्य सिद्धान्तका आधारमा कृतिमा सङ्गृहीत ८८ वटै कविता उत्तम काव्यको कोटिमा पर्ने धारणा राखे ।
समीक्षकद्वय डा. हरिप्रसाद तिमिल्सिना र डा. खोपीराम वली क्षेत्रीले कविताको संरचना, भावभूमि, शीर्षकीकरण, ध्वनिचेतना, समसामयिकता, बिम्बविधान, मिथक, इतिहास र सांस्कृतिक चेतनाका दृष्टिले कृति सुन्दर रहेको बताए ।
कार्यक्रममा साहित्यकार नरेन्द्रजङ्ग पिटर, महानन्द ढकाल, ईश्वरीप्रसाद रिजाल तथा सम्मानित स्रष्टाहरू मुस्तफ़ा अहसन क़ुरैशी, पुष्पराज जोशी र निरञ्जना चन्दलगायतले शुभकामना मन्तव्य दिएका थिए । साहित्यकार सागर गैरेले पुरस्कार तथा सम्मानित स्रष्टाहरूको परिचय गराएका थिए भने प्रतिष्ठानका पूर्वअध्यक्ष कपिल अन्जानले संस्थाका गतिविधिबारे जानकारी दिएका थिए ।
कार्यक्रममा बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत, दैलेख र जुम्लालगायत क्षेत्रका १०० भन्दा बढी साहित्यकार, प्राध्यापक, शिक्षक तथा सञ्चारकर्मीको सहभागिता थियो ।
प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुआत सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट भएको थियो । कार्यक्रम सचिव केशव निमेषले सञ्चालन गरेका थिए ।





