भरतपुर, २९ असोज ।
अक्षर समूह चितवनले बडादशैँ–२०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा कृति लोकार्पण कार्यक्रम गरेको छ ।
बिहीबार भरतपुरमा आयोजित कार्यक्रममा अक्षर समूह चितवनका पूर्वअध्यक्ष रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’, गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ र धादिङका स्रष्टा सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’ एकसाथ लोकार्पण गरिएको हो । तीनवटै कृतिको लोकार्पण भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले गर्नुभयो ।
तीनवटै कृतिका प्रकाशक क्रमशः चितवन साहित्य परिषद्, गजल मञ्च चितवन र सुन्दर स्वदेश प्रकाशन रहेका छन् ।
कार्यक्रममा लोकार्पित कृतिमाथि कवि सामना पहाडले टिप्पणी प्रस्तुत गर्नुभयो । त्यस अवसरमा तीनै जना कृतिकारले आफ्ना गजल तथा मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रममा चियापानसहित बडादशैँको शुभकामना आदानप्रदान गरिएको थियो ।





