काठमाडौं, २९ असोज ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका होटल, रेस्टुरेन्ट र खाजा घरलाई अनिवार्य रूपमा मूल्यसूची राख्न, ग्राहकलाई बिल दिन र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि व्यवसायीलाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री–वितरण गर्न आग्रह गरेको हो ।
विभागका अनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ । बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्री–वितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि विभागले निर्देशन दिएको छ ।
उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै विभागले अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।
विभागको निर्देशनले राजमार्गमा यात्रा गर्ने उपभोक्तालाई स्वच्छ खाद्यवस्तु, उचित मूल्य र पारदर्शी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





