भरतपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट घरपरिवार तथा व्यवसाय/प्रतिष्ठानतर्फ गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड रूपैयाँको क्षति भएकाे हाे । यस्तै व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको आयोगले जनाएकाे छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ७ हजार ३१६ घरपरिवार तथा व्यवसाय/प्रतिष्ठान प्रभावित भएका छन् । आयोगले जनाएअनुसार तीमध्ये ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान छन् ।
सर्वेक्षणअनुसार बाढीबाट ३२ हजार ८७२ व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।
आयोगले सार्वजनिक गरेको विवरण प्रारम्भिक रहेको जनाएको छ । बाढीबाट पूर्वाधार, उत्पादनशील, सामाजिक तथा वातावरणीय क्षेत्रमा भएको क्षति र नोक्सानीको विवरणसमेत समेटेर विस्तृत प्रतिवेदन तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ ।





