दशैँको रौनक बढाउन उज्ज्वल टोलमा तीन ठाउँमा लिङ्गे पिङ

भरतपुर, ३१ असोज ।
दशैँमा कम्तीमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने जनविश्वास छ । यही मान्यतासँग जोडिएको लिङ्गे पिङ दशैँको रौनक र नेपाली मौलिक संस्कृतिको अभिन्न अङ्ग हो । तर पछिल्लो समय पिङ राख्ने र खेल्ने परम्परा हराउँदै जान थालेपछि यसको संरक्षणका लागि भरतपुर महानगरपालिका–७ स्थित उज्ज्वल टोलमा तीन ठाउँमा लिङ्गे पिङ राखिएका छन् ।

टोलका मार्ग नम्बर ६, २६ र ३५ मा युवा एकता आवास समूह र उज्ज्वल टोलको संयुक्त पहलमा पिङ राखिएको हो । चौबिसकोठीबाट करिब पाँच किलोमिटर दूरीमा रहेको यस टोलमा तीन सयभन्दा बढी घरधुरी छन् ।

दशैँमा पिङ खेल्नु मनोरञ्जनको माध्यम मात्र होइन, आपसी सद्भाव, भेटघाट र सामाजिक एकता बढाउने अवसर पनि हो । पिङ खेल्न एकै ठाउँमा जम्मा हुँदा टोलवासी, आफन्त र पाहुनाबीच आत्मीयता बढ्ने अपेक्षासहित पिङ राखिएको पिङ संस्कृति अभियानका कार्यक्रम संयोजक राजेन्द्र रानाभाटले बताए ।

नयाँ पुस्तालाई मौलिक पिङ संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले बाँसको प्रयोग गरी पिङ बनाइएको उनले जानकारी दिए । बाबियोको अभावका कारण पिङका लागि आवश्यक लट्ठा भने बजारबाट ल्याउनुपरेको उनले बताए ।

एकता आवास समूहका अध्यक्ष बालगोपाल श्रेष्ठले कला र संस्कृतिको संरक्षणका लागि स्थानीयवासी एकजुट भएको बताए । विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएका परिवारलाई पनि चाडपर्व गाउँघरमै मनाएजस्तो अनुभूति दिलाउन पिङले सहयोग गर्ने उनको भनाइ छ ।

टोलका अध्यक्ष लक्ष्मण जिसीले दशैँ–तिहारको रौनकसँग जोडिएको पिङ संस्कृति हराउँदै जान थालेकाले यसको संरक्षणको प्रयास गरिएको बताए । टोलका पूर्वअध्यक्ष रामचन्द्र चालिसेले पिङ संस्कृति जोगाउन सके चाडपर्वको मौलिकता र रौनक जीवन्त रहने बताए । मोबाइलमा अत्यधिक व्यस्त हुने प्रवृत्तिका कारण यस्ता परम्परा ओझेलमा पर्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

कालिका महिला समूहकी उपाध्यक्ष गोमा थापाले पिङ खेल्नु मनोरञ्जनका साथै शारीरिक सक्रियता बढाउने माध्यम पनि भएको बताइन् ।

तीनवटै स्थानमा राखिएका पिङको हिन्दु परम्पराअनुसार पूजापाठ गरी उद्घाटन गरिएको थियो । सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा विविध खेलकुद कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट