लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौं, ३१ असोज ।
पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।

कार्यक्रममा छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत  डोम समुदायकी  १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर यो उपन्यास रचिएको छ ।

विमोचन कार्यक्रममा मन्तव्य राख्दै अञ्जु कुमारी मरिकले आफू विभेदकारी समाजसँग जुध्दै यहाँसम्म आइपुगेको कथा सुनाइन्। ‘म १२ जिल्लाको डोम समुदायबाट छात्रवृत्तिमा कक्षा १२ मा अध्ययन गर्ने एक मात्र छोरी हुँ । मेरो यो यात्रामा मेरा बुबाको  ठूलो योगदान छ,’ उनले भनिन् ।

समाजमा व्याप्त दोहोरो मापदण्डमाथि प्रहार गर्दै उनले थपिन्, ‘हाम्रो समाजमा शिक्षाको मात्र होइन, जातिभेदको गहिरो पीडा छ । अनौठो कुरा के छ भने, बच्चा जन्मँदा वा विवाह जस्ता शुभकार्यमा हाम्रो समुदायले दिएको आशीर्वाद र छोएको पानीलाई चोखो मानिन्छ, तर अन्य समयमा हामीले छोएको पानी अशुद्ध ठहरिन्छ। मरेको मानिसलाई मुखाग्नि दिएपछि स्वर्ग पाइन्छ भन्ने समाजले त्यही मरिक समुदायलाई भने अछुत मान्छ ।’

आफ्नो भविष्यको सङ्कल्पबारे बोल्दै उनले भनिन्, ‘बाटो सहज छैन, तर म समाजका छोरीहरूका लागि उदाहरण बन्न चाहन्छु । एक दिन हाम्रो समुदायका छोरीहरूलाई जातले होइन, उनीहरूको शिक्षा र क्षमताले चिनिनेछ ।’

कार्यक्रममा बोल्दै डा. रामजी रामले ‘मगनी मरिक’ ले मधेशको सीमान्तकृत समुदायको वास्तविक विडम्बना र राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रश्न उठाएको बताए ।

‘हामी गणतन्त्र हेरिरहेका छौँ, तर त्यो गणतन्त्रभित्र पनि अझै ‘जाततन्त्र’ जीवितै छ । राजा ढाल्नेहरूले राजतन्त्रकै चेतना र सफ्टवेयर बोकेर हिँडेका छन् कि छैनन् र गणतन्त्रमा जाततन्त्र ढाल्न सकियो कि सकिएन भन्ने प्रश्न यो पुस्तकले उब्जाएको छ,’ डा. रामजीले टिप्पणी गरे ।  मधेशमा पानी खान नपाउने, नेता र क्यामराहरू घेराभित्र मात्र सीमित हुने यथार्थबिच लेखकले भुइँमान्छेका घरमै पुगेर उनीहरूको आवाज लेख्ने हिम्मत गरेकोमा उनले प्रशंसा गरे ।

उपन्यासको पृष्ठभूमि र लेखन अनुभवबारे बोल्दै लेखक जनकराज सापकोटाले दुई दशक लामो पत्रकारिताका क्रममा रिपोर्टिङ गर्दा छुटेका अनुभूतिहरू नै ‘मगनी मरिक’ को आधार बनेको बताए । ‘मधेशमा जातप्रथा, गरिबी, कमजोर स्वास्थ्य र शिक्षाको अवस्था भयावह छ। पत्रकारिता गर्दा धेरै कुराहरू छुट्थे, जसलाई म डायरीमा लेख्ने गर्थेँ,’ सापकोटाले भने ।

गाउँ–गाउँ पुग्दा भाषा र संवादका अनेकौँ अप्ठ्याराहरू सामना गर्नुपरेको सम्झँदै उनले थपे, ‘त्यहाँका पात्रहरूको घरमै पुगेर उनीहरूको जीवनशैली र मनोदशा नजिकबाट देखेपछि मात्रै यो पुस्तक तयार भयो । मधेशबाट काठमाडौँ डेढ-दुई सय किलोमिटर मात्र टाढा छ, तर त्यहाँको पीडा र उत्पीडनको आवाज काठमाडौँसम्म आइपुग्न अझै धेरै समय लाग्छ ।’ अञ्जु जस्ता मधेशका छोरीहरूलाई मञ्चमा ल्याएर उनीहरूकै कथा प्रस्तुत गर्न पाउँदा आफूलाई खुसी लागेको पनि उनले व्यक्त गरे ।

कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै लेखक श्याम साहले उपन्यास आकारमा सानो भए पनि यसले पाठकलाई झट्का दिने गरी हल्लाउने बताए । मधेशको जातीय उत्पीडन, वैदेशिक रोजगारी, मानव तस्करी र प्रशासनतन्त्रको संवेदनाहीनतालाई उजागर गरेको यो पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट