पढ्ने बानी : व्यक्तिको विकासदेखि समाजको रूपान्तरणसम्म

गैंडाकोट, ३१ असोज ।
पठन संस्कृतिले मानिसको ज्ञान र चेतनाको दायरा फराकिलो बनाउनुका साथै जीवनशैली र सोच्ने तरिकामै परिवर्तन ल्याउने भएकाले विद्यार्थीलाई सानैदेखि नियमित पुस्तक पढ्ने बानी विकास गराउनुपर्नेमा जोड दिइएको छ ।

विजय एफएम १०१.६ द्वारा सञ्चालित पठन संस्कृति अभियानको २३औँ शृङ्खलामा सहभागी वक्ताहरूले विद्यार्थी, शिक्षक, अभिभावक र समग्र समाजमा पठन संस्कृतिको महत्त्व उजागर गर्दै पढ्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

शनिबार गैंडाकोटमा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी न्यु क्यापिटल कलेज रत्ननगरका प्रधानाध्यापक भूपेन्द्र धितालले नियमित पुस्तक पढ्ने बानीले मानिसको जीवनशैलीमा परिवर्तन ल्याउने र ज्ञान तथा चेतनाको दायरा बढाउने बताउनुभयो ।

उहाँले विद्यार्थीलाई प्रविधिबाट टाढा राख्नुभन्दा त्यसको सही प्रयोग गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो । “अहिलेका विद्यार्थीलाई प्रविधिबाट टाढा राख्न हुन्न । प्रविधिलाई सही ढङ्गले प्रयोग गर्न सिकाउनुपर्छ । पढ्ने वातावरण बनाइदिनुपर्छ,” उहाँले भन्नुभयो ।

विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न आफूले पनि प्रयास गरिरहेको उल्लेख गर्दै धितालले विद्यालय तहबाटै पुस्तक पढ्ने अवसर र वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा साहित्य, लोकतन्त्र, डिजिटल अधिकार, आधुनिक समाज र असल आचरणलगायत विषयमा समेत चर्चा गरिएको थियो । मेनका चापागाईंले कविता प्रस्तुत गर्नुभयो भने युवा लेखक उपेन्द्र भुसालले विश्वप्रसिद्ध लेखिका कोलिन हुबरका कृतिबारे चर्चा गर्नुभयो । संसार सापकोटाले आधुनिक समाज र सहारा सापकोटाले डिजिटल अधिकारका विषयमा धारणा राख्नुभयो ।

त्यसैगरी, सुदीप चापागाईंले हाउ डेमोक्रेसी डाइज पुस्तकको चर्चा गर्दै विश्वमा लोकतन्त्रले सामना गरिरहेका चुनौती र यसको संरक्षणका उपायबारे विचार प्रस्तुत गर्नुभयो । समालोचक उदय अधिकारीले मोहनी मादल कृतिमाथि चर्चा गर्नुभयो भने लेखराम सापकोटाले जनकराज सापकोटाद्वारा लिखित उपन्यास मगनी मरिक बारे आफ्नो धारणा राख्नुभयो । शंकर आचार्यले मानिसका असल आचरण र बानीव्यवहारका विषयमा चर्चा गर्नुभयो ।

पठन संस्कृतिले व्यक्तिको ज्ञान वृद्धि गर्ने मात्र नभई समाजलाई सचेत, विवेकशील र जिम्मेवार बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पुस्तक पढ्ने संस्कृतिलाई सामूहिक अभियानका रूपमा अघि बढाउनुपर्ने सन्देश यो कार्यक्रमले दिएको प्रमुख वक्ता धितालले बताउनुभयो ।

त्रिलोचन सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रम २०८१ साल वैशाख १५ गतेदेखि सुरु भएको हो । हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिँदै आएको अभियानले पुस्तक पढ्ने बानीको विकास र पठन संस्कृतिको विस्तारमा जोड दिँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट