मकवानपुर, १ कात्तिक ।
भीमफेदी गाउँपालिका–१ स्थित बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब १२ः३० बजे हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत बादरेभीरमा काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दुर्घटनामा परेको हो । गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । मुखमा चोट लागेका उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी) रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साहको बायाँ खुट्टामा, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलमको नाक र बायाँ काँधमा चोट लागेको छ । त्यस्तै, हरि साहका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह तथा पाँच वर्षीय नाति आर्यन साहको शरीरमा भित्री चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
हरि साहका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेका छन् । हरिलाई थप उपचारका लागि चितवन रिफर गरिएपछि उनीहरूसमेत चितवन मेडिकल कलेज गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखामा, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुरको मुखमा तथा धमनामाई गाउँपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । दुर्घटनामा परेको ईभी गाडी घटनास्थलमै रहेको र चालक फरार भएको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको छ ।




