मकवानपुर, ८ कात्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आश्रित बालबालिकासँग भेटघाट गर्दै दसैँको शुभकामना आदानप्रदान गर्नुभएको हो ।
मुख्यमन्त्री थापाले बाल सेवाघरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । उहाँले घरबारविहीन, असहाय तथा अभिभावकविहीन बालबालिकालाई आश्रय, माया र संरक्षण प्रदान गर्दै आएको संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो ।
‘आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन्’ भन्दै मुख्यमन्त्री थापाले उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नु, उचित हेरचाह र संरक्षण प्रदान गर्नु तथा सुरक्षित भविष्य निर्माणका लागि अवसर उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो ।
निरीक्षणका क्रममा उहाँले सडकबाट उद्धार गरी ल्याइएका तथा अभिभावकविहीन बालबालिकासँग भेटघाट गर्नुभयो । उहाँले बालबालिकालाई टीका र जमरा लगाइदिँदै विजयादशमीको शुभकामना व्यक्त गर्नुभयो ।
‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने मूल नारालाई आत्मसात् गर्दै असहाय तथा अभिभावकविहीन बालबालिकासँग दसैँको खुसी साटासाट गर्न पाउँदा आत्मीय र भावुक अनुभूति भएको मुख्यमन्त्री थापाले बताउनुभयो ।
मानव सेवा घरजस्ता संस्थाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई आश्रय र उज्ज्वल भविष्यको आशा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको अधिकार, सम्मान र आधारभूत आवश्यकताको सुनिश्चितताका लागि समाजका सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री थापाको निरीक्षण तथा बालबालिकासँगको दसैँ शुभकामना आदानप्रदानले असहाय बालबालिकाको संरक्षण, मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रतिको महत्त्वलाई उजागर गरेको छ ।




