रत्ननगर, ७ कात्तिक ।
संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा बडादशैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष बडादशैँको द्वादशीका दिन आयोजना हुँदै आएको उक्त कार्यक्रम यस वर्ष पनि कात्तिक ६ गते रत्ननगर नगरपालिका–टाँडी अस्पताल रोडस्थित अधिकारीको निवासमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । सहभागीहरूले एकापसमा बडादशैँको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र आत्मीयता साटासाट गरेका थिए ।
कार्यक्रमका आयोजक एवं पूर्व संविधान सभा सदस्य अधिकारीले चाडपर्वका अवसरमा आपसी भेटघाट तथा शुभकामना आदानप्रदानमार्फत सामाजिक सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष द्वादशीका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले समाजमा आपसी एकता, सद्भाव र आत्मीयता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।




