‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, आचार्य र धरावासी सम्मानित

काठमाडौं, ९ कात्तिक ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरेको छ । त्यस्तै, पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्य र पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई अर्पण गरिएको छ ।

विक्रम संवत् २०८२ मा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्येबाट छनोट भएको ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति चित्रण र मार्मिक कथनशैली उपन्यासका प्रमुख विशेषता हुन् । व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै यसले सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावकारी रूपमा उठाएको छ ।

यस वर्षको पद्मश्री गौरव पुरस्कारबाट सम्मानित प्रा. डा. आचार्य नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता हुनुहुन्छ । परराष्ट्र नीति तथा कूटनीतिका अध्येतासमेत रहनुभएका उहाँले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित गर्नुभएको छ । ‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उहाँका उल्लेखनीय कृतिमध्ये हुन् ।

संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत काम गर्नुभएका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

त्यस्तै, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान अर्पण गरिएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासी झन्डै दुई दर्जन ग्रन्थका सम्पादकसमेत हुनुहुन्छ । लीला लेखनका व्याख्याताका रूपमा समेत परिचित उहाँले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक लेखनशैलीमा प्रस्तुत गर्दै आउनुभएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित रमदा होटलमा सोमबार आयोजित समारोहमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको हो । तीनवटै पुरस्कार तथा सम्मानको राशि जनही ३ लाख रुपैयाँ रहेको छ । यो राशिलाई बढाएर आगामी वर्षदेखि जनही ४ लाख रुपैयाँ पुर्‍याइने अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट