पद्मावती सिंह ‘कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार’ बाट सम्मानित

काठमाडौं, १० कात्तिक ।
प्रतिष्ठित कवि, आख्यानकार, गीतकार तथा गायिका पद्मावती सिंह ‘कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । कविडाँडा साहित्य समाजद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँलाई ५० हजार १६० रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको हो ।

कवि गोपाल पराजुलीको प्रमुख आतिथ्य तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षतामा ललितपुरस्थित सांग्रिला ब्लु होटलमा कार्यक्रम सम्पन्न भएको हो ।

पुरस्कार अर्पण समारोह सम्मानित स्रष्टाको व्यक्तित्व र योगदानको गरिमा उजागर गर्ने सुन्दर उदाहरण बनेको थियो । कार्यक्रममा डा. सिर्जना शर्माले सम्मानित स्रष्टा पद्मावती सिंहको साहित्यिक तथा सांगीतिक योगदानबारे चर्चा गर्नुभएको थियो । प्रकाश सायमी र भागीरथी श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कवि उषा शेरचनले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले साहित्य र संगीतको साधनामा जीवन समर्पित गर्ने स्रष्टा सम्मानित हुँदा पुरस्कारको वास्तविक अर्थ स्थापित हुने बताउनुभयो ।

‘जसले आफ्नो जीवन साहित्यकै आराधना र साधनामा समर्पित गर्नुभयो र सधैँ निष्ठावान् जीवन बाँच्नुभयो, उहाँ सम्मानित हुँदा प्राप्त भएको खुसी र पवित्रताले यी सबै भ्रमलाई चिर्दै पुरस्कारको असली अर्थ प्रमाणित गरेको छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि गोपाल पराजुलीले पद्मावती सिंहका शुभचिन्तक, प्रशंसक तथा साहित्य र संगीतप्रेमीहरूको उल्लेख्य उपस्थितिले उहाँको लोकप्रियता र योगदानप्रतिको सम्मान झल्काएको बताउनुभयो ।

कविडाँडा साहित्य समाजको आयोजना तथा संयोजनमा सम्पन्न कार्यक्रमका लागि सरला श्रेष्ठले आफ्ना माता-पिताको सम्मानमा पुरस्कार स्थापना गर्नुभएको हो । उहाँको आतिथ्य र निःस्वार्थ भावनासमेत कार्यक्रमको विशेष पक्ष बनेको थियो ।

‘पुरस्कार अर्पण कार्यक्रममा उपस्थित हरेक व्यक्ति केवल पद्मावती सिंहकै लागि आएको अनुभूति हुन्थ्यो । उहाँका शुभचिन्तक, प्रेमिल मन र प्रशंसकहरूको भव्य उपस्थितिले उहाँको लोकप्रियता बोलिरहेको थियो । सबै उहाँको साहित्यिक जीवन र संगीतप्रतिको समर्पणलाई सम्मान व्यक्त गर्न आउनुभएको थियो । यसले साहित्यका साधक पुरस्कृत हुँदा समाज कति प्रभावित र हर्षित हुन्छ भन्ने प्रमाणित गरेको छ,’ पराजुलीले भन्नुभयो ।

कार्यक्रममा सरला श्रेष्ठको शब्द रचनामा तयार भएको गीत ‘म मौन रही रहें, तिमीले मलाई माया गरि रह्यौं’ को गीति-भिडियोसमेत विमोचन गरिएको थियो । पद्मावती सिंहको स्वर रहेको उक्त गीत सभाहलमा गुञ्जिँदा उपस्थित दर्शक तथा श्रोताहरू भावविभोर बनेका थिए । साहित्य र संगीतको सुन्दर संगमका रूपमा प्रस्तुत उक्त क्षण समारोहको अविस्मरणीय पक्ष बनेको थियो ।

गीतको सिर्जना तथा प्रस्तुतिमार्फत साहित्य र संगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएकी सरला श्रेष्ठलाई यस सत्कर्मका लागि हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट