काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १४९ रन मात्र बनाउन सक्यो। सो क्रममा चितवनका कमलसिंह ऐरीले चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिए । उनको प्रभावशाली बलिङले विराटनगरलाई लक्ष्यबाट टाढा राख्न मद्दत गर्यो । उनी प्लेयर अफ दि म्याच समेत घोषित भए ।
ऐरीका अलावा रिजन ढकालले २ तथा टम टेलर, रञ्जित कुमार, ड्यान माउस्ली र मौसम ढकालले १-१ विकेट लिए ।
विराटनगरका इमरान शेइखले ३९ रन जोड्दा आन्द्रे रसेलले ३३ रनको पारी खेले ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न आएकाे चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा अर्धशतक पूरा गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएका थिए। उनी ५० बलमा ७० रन बनाउँदै आन्द्रे रसेलको बलमा आउट भए ।
यस जितसँगै चितवनले तेस्रो संस्करणको पहिलो खेलबाट दुई अंक जोडेको छ भने विराटनगरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
आजको दोस्रो खेल जनकपुर बोल्टस् र कर्णाली याक्स बीच खेलिँदैछ ।





