चितवन, ७ असार ।
बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिकाका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई व्यवसाय प्रवर्द्धनसम्बन्धी सीप विकास तालिमसहित सिलाइ मेसिन तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
भरतपुर महानगरपालिका–२, ४, ५, ७, ११ र १२ नम्बर वडाको सिफारिसमा प्रत्येक वडाबाट तीन–तीन जना गरी छनोट गरिएका महिलालाई सिलाइ मेसिन तथा टेलरिङ व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो । यसअघि विभिन्न तहबाट सीपमूलक तालिम प्राप्त गरी व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्ने तयारीमा रहेका महिलालाई प्राथमिकतामा राखिएको थियो ।
हाम्रो भरोसा नेपालको आयोजनामा तथा भरतपुर महानगरपालिका–७ को समन्वयमा सम्पन्न कार्यक्रमअन्तर्गत सहभागी महिलालाई डिजिटल माध्यमबाट व्यवसाय प्रवर्द्धन, वित्तीय साक्षरता र व्यवसाय सञ्चालनसम्बन्धी तीनदिने प्रशिक्षणसमेत प्रदान गरिएको थियो । समूहमा आबद्ध भई उद्यम सञ्चालन गर्न सक्ने महिलालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारले उपलब्ध गराएको प्रविधिको उच्चतम सदुपयोग गर्दै महिलाले आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । वितरण गरिएको सामग्रीको प्रभावकारी प्रयोग भए–नभएको विषयमा नियमित अनुगमन गरिने उनले बताए ।
पूर्वमन्त्री जोशीले यसअघि पनि महिला तथा युवाको क्षमता अभिवृद्धि र उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
भरतपुर महानगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको विशिष्ट आतिथ्यता तथा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासदस्य अमृता गौतम, मिनबहादुर गुरुङ र रिता दर्जी, महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका सहायक अधिकृत शोभादेवी ढकाल, शकुन्तला घिमिरे तथा उद्यम विकास सहजकर्ता रत्न पुरीको उपस्थिति रहेको थियो। डिजिटल सीप विकाससम्बन्धी प्रशिक्षण प्रशिक्षक सगुन चपाईंले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागी महिलाले सीपसँगै आवश्यक प्रविधि उपलब्ध गराएर स्वरोजगारको अवसर सिर्जना गरिदिएको भन्दै सांसद जोशीप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले आफूहरू व्यवसायमार्फत आत्मनिर्भर बन्नुका साथै अन्य महिलालाई पनि उद्यमशीलताको यात्रामा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





