किरण थापा मगरले पाए विश्वासको मत

मकवानपुर, ९ भदौ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिएका हुन् । विश्वासको मतको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै मत परेन ।

थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, नेकपा एमालेका २४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ७ जना सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाबाट उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् ।

सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त हुने अवस्था नदेखिएपछि बैठक तीन पटक सारेर अन्ततः स्थगित गरिएको थियो । त्यसपछि मंगलबारका लागि बैठक बोलाइएको थियो ।

यसअघि सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने विषयमा राप्रपा विभाजित भएको थियो । प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेका दलका नेता उद्धव थापासहित मन्त्री बनेका तीन जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ । उनीहरू चार जनालाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो ।

राप्रपाका १२ जना सांसदमध्ये सात जना सरकारको पक्षमा उभिएपछि नेता उद्धव थापा संसदीय दलमा बहुमतमा रहेका छन् ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मंगलबारको प्रदेशसभा बैठक बहिष्कार गरेको छ । सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिट परेको र उक्त रिटमाथि सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

रिट निवेदक र सरकार पक्षलाई अदालतले १० भदौमा छलफलका लागि बोलाएको छ । सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिन लागिएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना ३६ जना सांसदलाई ह्वीप जारी गरेको थियो । विपक्षी दल नेपाल मजदुर किसान पार्टीका तीन जना र हाम्रो नेपाली पार्टीका दुई जना सांसद पनि बैठकमा अनुपस्थित भए ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकारलाई बहुमत सिद्ध गर्न ५३ जना सांसदको समर्थन आवश्यक थियो । मुख्यमन्त्री थापाले ५७ मत प्राप्त गर्दै आवश्यक बहुमत हासिल गरेका हुन् ।

मुख्यमन्त्री थापा मगर गत ४ भदौमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट