नारायणीमा काठ–दाउरादेखि ग्यास सिलिन्डरसम्म बगे

चितवन, १० भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनसम्म आइपुगेको छ । बाढीका कारण चितवन भएर बग्ने त्रिशूली र नारायणी नदीको जलसतह बढे पनि हालसम्म कुनै क्षति भने भएको छैन ।

बुधबार दिउँसो पौने ३ बजेतिर त्रिशूली नदीको दासढुङ्गा पुल पार गरेको बाढी करिब आधा घण्टापछि नारायणगढस्थित नारायणी नदीमा पुगेको थियो । बाढीसँगै आएको धमिलो पानीमा लेदो मात्र नभई काठ, दाउरा र ठूला–ठूला सग्ला रुखसमेत बगेका थिए । बाढीमा बगेका ठोस पदार्थले नदीको करिब आधा भाग ढाकेको देखिन्थ्यो ।

बाढीसँगै ठूला ड्रम, खाना पकाउने ग्यासका सिलिन्डर, खानेपानीका पाइपका बन्डल तथा अप्टिकल फाइबरका ठूला बन्डलसमेत बगेर आएका थिए । त्यस्तै, ट्याङ्कर र साना सवारीसाधनका छतसमेत बाढीले बगाएर ल्याएको देखिन्थ्यो ।

बाढी हेर्न नारायणगढस्थित नारायणी नदी किनारमा सर्वसाधारणको ठूलो भीड लागेको थियो । केही मानिस बाढीको बहाव हेर्न मात्र नभई बग्दै आएका ग्यास सिलिन्डरलगायत सामग्री समात्नसमेत तछाडमछाड गरिरहेका देखिन्थे ।

नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रमा जलसतह ७.३ मिटर नाघेपछि चेतावनी तह र ९ मिटर नाघेपछि खतरा तह पार भएको मानिन्छ । बुधबार साँझसम्म देवघाटमा नारायणीको जलसतह ४.१४ मिटर पुगेको थियो ।

यसअघि पनि भारी वर्षाका बेला देवघाटमा नारायणीको जलसतह बढे पनि चेतावनी तहभन्दा तल रहेसम्म ठूलो जोखिम नदेखिएको सरकारी जलमापन विवरणहरूले देखाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट