भरतपुर, ९ भदौ ।
भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरलाई ‘सहिद मैदान’का रूपमा विकास गरिने भएको छ ।
जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको गेस्ट हाउस चौरको कित्ता नम्बर १९५९ को एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरपालिकाले मैदान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हाल मैदान सम्याउने तथा स्तरोन्नतिको काम भइरहेको छ ।
मैदानलाई व्यवस्थित र आकर्षक बनाउन हाल रहेको मञ्चलाई व्यवस्थित गर्ने, आकर्षक प्रवेशद्वार निर्माण गर्ने, घेराबार गर्ने, ढल निकासको व्यवस्था मिलाउने, फुटपाथ निर्माण गर्ने, हरित क्षेत्र विकास गर्ने तथा स्मार्ट शौचालय निर्माण गर्ने योजना महानगरको छ ।
महानगरपालिकाले आगामी माघ १६ गते सहिद दिवसका दिन ‘सहिद मैदान’को औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखेको छ । सोही अवसरमा भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने तयारीसमेत गरिएको छ ।
गेस्ट हाउस चौरकै अर्को एक बिघा नौ धुर जग्गामा ‘भरतपुर समन्वय पार्क’ निर्माण गर्ने योजना पनि अघि बढाइएको छ । पार्क निर्माणका लागि महानगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सार्वजनिक कार्यक्रम, सभा तथा विभिन्न गतिविधि हुँदै आएको गेस्ट हाउस चौरलाई व्यवस्थित मैदान र पार्कका रूपमा विकास गरेपछि यस क्षेत्रको सौन्दर्यसँगै सार्वजनिक उपयोगिता पनि बढ्ने अपेक्षा गरिएको छ ।





