देवचुली–गैंडाकोट साझेदारीमा दमकल सेवा सुरु

देवचुली, ८ भदौ ।
देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको लागत साझेदारीमा दमकल (बारुणयन्त्र) सेवा सञ्चालनमा आएको छ । आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले दुई नगरपालिकाले साझेदारीमा दमकल खरिद गरी सेवा सुरु गरेका हुन् ।

सोमबार देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपाने र गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले संयुक्त रूपमा दमकलको पूजा गरी सेवाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले दुई स्थानीय तहबीचको सहकार्यमा दमकल सेवा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । आगलागी तथा विपद्का घटना जुनसुकै बेला हुनसक्ने भएकाले नागरिकको सुरक्षाका लागि आपत्कालीन सेवा तयारी अवस्थामा राख्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

“आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो । दुई पालिकाको साझेदारीमा दमकल सेवा सुरु गर्न सफल भएका छौँ । अब यसलाई दुवै पालिकाका नागरिकलाई सहज र छिटो सेवा पुग्ने गरी व्यवस्थापन गर्छौँ,” उहाँले भन्नुभयो ।

गैंडाकोट नगरपालिकाका उपप्रमुख कोइरालाले दमकललाई देवचुली र गैंडाकोट दुवै पालिकाका नागरिकलाई पायक पर्ने स्थानमा राख्ने गरी आवश्यक व्यवस्थापन गरिने बताउनुभयो । दमकल घटनास्थलमा छिटो पुग्न सके आगलागी तथा अन्य विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

देवचुली र गैंडाकोट नगरपालिकाबीच २०८१ मंसिर २६ गते भएको सम्झौताअनुसार ९४ लाख ४४ हजार रुपैयाँमा दमकल खरिद गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिनुभयो । सम्झौताअनुसार गैंडाकोट नगरपालिकाले ७० प्रतिशत र देवचुली नगरपालिकाले ३० प्रतिशत लागत व्यहोरेका छन् ।

उहाँका अनुसार दमकल सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिएको छ। दुवै पालिकालाई पायक पर्ने स्थानबाट दमकल सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा रास्वपा देवचुलीका सभापति शेरबहादुर केसी र जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले दुई नगरपालिकाबीचको सहकार्यमा सञ्चालनमा आएको दमकल सेवाले विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रवक्ता तिलप्रसाद काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्दै दमकल सेवा सञ्चालनका लागि गरिएको लागत साझेदारीले स्थानीय तहबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट