भाग्योदय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

गैंडाकोट, ८ भदौ ।
भाग्योदय प्राथमिक विद्यालय गैंडाकोट–६ का पूर्वप्रधानाध्यापक स्वर्गीय जगदीश अधिकारीको ३१औँ पुण्यस्मृति दिवसका अवसरमा सोमबार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट–६ का वडाध्यक्ष सुभाष चापागाईं प्रमुख अतिथि तथा स्वर्गीय अधिकारीका छोरा सुजन अधिकारी विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं वडाध्यक्ष चापागाईंले शिक्षा क्षेत्रमा स्वर्गीय अधिकारीले पुर्‍याएको योगदानको स्मरण गर्दै पूर्वप्रधानाध्यापक अधिकारीले यस क्षेत्रको शैक्षिक सुधारमा खेलेको भूमिका अतुलनीय रहेको बताए । उनको स्मृतिमा स्थापित अक्षयकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पुर्‍याएको बताउँदै उनले वडा कार्यालयले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष अतिथि सुजन अधिकारीले बुबाको स्मृतिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले बुबाको शिक्षाप्रतिको समर्पण र सपनालाई जीवित राख्न अक्षयकोषमार्फत विद्यार्थीलाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि यस्ता रचनात्मक सहयोगलाई निरन्तरता दिने बताए ।

यसैबीच, स्वर्गीय अधिकारीका छोरा सुजन अधिकारीले आफ्ना बुबाको स्मृतिमा स्थापित अक्षयकोषको मूलधनमा यस वर्ष थप १० हजार रुपैयाँ हस्तान्तरण गरे । अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, मुना पत्रिकालगायत शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रमकी अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभा बोटले अक्षयकोष स्थापना गरी हरेक वर्ष विद्यार्थीलाई प्रोत्साहन गर्दै आएकोमा अधिकारी परिवारप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षद्वय नरहरि सापकोटा र लक्ष्मीप्रसाद सापकोटा, प्रधानाध्यापक सीता लम्साल, पूर्वप्रधानाध्यापक डिल्लीप्रसाद अम्बै, पवित्रा अधिकारी, चन्द्रबहादुर विक तथा कल्पना परिवारको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका माया कँडेलले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट