भरतपुर, ९ असार ।
वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिन् ।
विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त सहयोग प्रदान गरिएको हो। छात्रवृत्ति पाउने ९ जना विद्यार्थीमध्ये ४ जनाले यस वर्ष पनि निरन्तरता पाएका छन् ।
राहत पाउने विद्यार्थीहरू निकुञ्ज आसपासका पौपाण्डव, बघौडा, रैवा, बुढीराप्ती, मेघौली, केरुङ्गा, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति तथा मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति क्षेत्रका विपन्न तथा प्रभावित परिवारका रहेका छन् ।
स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी चितवन राष्ट्रिय निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
छात्रवृत्ति वितरण गर्दै मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा यस सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरिन् ।
मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेको समस्याप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले मानव–वन्यजन्तु द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न तथा प्रभावित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको बताइन् ।





