चितवन, १० असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । असार ७ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र लम्बिएपछि निर्वाचन प्रक्रिया आज मात्रै मतदान चरणमा प्रवेश गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगले हिजो साँझ मतदाता नामावली प्रकाशन गरेसँगै उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन, उम्मेदवारी फिर्ता तथा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया सम्पन्न गरेको थियो ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान हुनेछ । सभापति पदमा भने रवि लामिछाने मंगलबार राति नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
बुधबार बिहान ९ बजेदेखि केन्द्रीय सदस्य पदका लागि मतदान सुरु हुने जनाइएको छ । अन्य पदाधिकारी पदहरूको निर्वाचन भने दोस्रो चरणमा गरिनेछ । सभापति र केन्द्रीय सदस्य पदको मतगणना सुरु भएपछि दोस्रो चरणको निर्वाचन सम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गरिने आयोगले जनाएको छ ।





