गैंडाकोट, ३ साउन ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् भाषा – साहित्य विभाग प्रमुख रामहरि शर्मा अधिकारी शराहको निधन भएको छ ।
गैंडाकोट नगरपालिका – ११ भेँडाबारीस्थित निवास अगाडि सडक छेउमा उभिरहेकै अवस्थामा असार २६ गते बिहान स्कुटरले ठक्कर दिएर गम्भीर घाइते हुनुभएका शर्मालाई उपचारका लागि चितवन मेडिकल कलेज (सिएमसी) लगिएको थियो । थप उपचारका लागि उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा राखिएको थियो । उहाँको स्वास्थ्यमा सुधार नदेखिएपछि उपचार कै क्रममा शनिबार बिहान निधन भएको हो ।
शर्माको शनिबार साँझ भेँडाबारीस्थित नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
शर्माको जन्म २०१२ साल असोज २७ गते गोर्खामा भएको हो । उहाँ मानवअधिकार तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँले सहिद स्मृति क्याम्पस रत्ननगर र सूर्यभक्त पतनादेवी मेमोरियल कलेज गैंडाकोटमा लामो समय प्राध्यापन गर्नुभएको थियो । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी, लायन्स क्लब अब चितवन वाङ्मयलगायतका संस्थामा आबद्ध रहेर उहाँले भाषा साहित्यको सेवा गर्नुभएको थियो । उहाँका श्रीमती, १ छोरा र १ छोरी छन् ।
रामहरि शर्मा शराहको जीवनी
वि. सं. २०१२ असोज २७ गतेको शुभमुहूर्तमा माता तिलकुमारी अधिकारी र पिता न्यायाधीश रामेश्वरप्रसाद अधिकारीको पुत्र-रत्नका रूपमा रामहरि शर्मा शराहको गोर्खा छिपिटोलमा जन्म भएको हो । उहाँको पुर्ख्यौली थलो बेसीसहर -१, उदीपुर लमजुङ भए पनि हाल गैंडाकोट, नवलपरासी (बर्दघाट – सुस्ता पूर्व) स्थायी बसोबास थियो ।
उहाँ निबन्धकार, गीतकार, मुक्तककार, गजलकार, बालसाहित्यकार हुनुका साथै वार्णिक छन्दमा सरल र सरस शैलीमा कविता सृजना गर्नु उहाँको मूलभूत विशेषता हो । २०३२ सालदेखि सृजनायात्रातिर उन्मुख शराहले २०३६ को सडक आन्दोलन कविताबाट गति लिन थाल्नुभएको थियो । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका रामहरि शर्माले प्राध्यापन पेसा अँगाली हाल निवृत्त जीवनमा प्रवेश पछि झनै क्रियाशील देखिनुभएको थियो । प्रकाशित कृतिहरूमा शब्द सङ्गोष्ठी (कवितासङ्ग्रह २०६३), शराह र सौराह (संयुक्त गजलसङ्ग्रह २०७६ सह लेखन – धनराज गिरि) , पुतलीको बिहे (बाल कवितासङ्ग्रह २०७१) र प्रातः प्रवाह (२०८०) प्रमुख रहेका छन् । यी बाहेक विभिन्न पत्रपत्रिकाहरूमा दर्जनौं फुटकर रचनाहरू प्रकाशित देखिन्छन् ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, मानवअधिकार तथा शान्ति समाज नेपाल, कश्यप गोत्रीय अधिकारी समाज नेपाल, लायन्स क्लब अफ चितवन वाङ्मयजस्ता संस्थाहरूमा आबद्ध रहेका रामहरि शर्मा शराह विभिन्न साहित्यिक र सङ्घसंस्थाहरूबाट चाहिँदो सम्मान र पुरस्कारले चुलिएका पात्र हुनुहुन्थ्यो । सहिद स्मृति बहुमुखी कलेजबाट रजत स्वर्ण पदक -२०६१, कालिका एफएम चितवनबाट स्रष्टा सम्मान-२०६४, आदर्श साहित्य समाज गैंडाकोटबाट आदर्श वर्ष सम्मान-२०६८, प्रेमा वाङ्मय सम्मान-२०७३, वाल्मीकि साहित्य सम्मान-२०७३ र पल्लव साहित्य सम्मान-२०७५ आदि प्रमुख रहेका देखिन्छन् ।





