भ्यु चितवनको पाँचौँ राष्ट्रिय सम्मेलन गैंडाकोटमा सम्पन्न

गैँडाकोट, ६ मङ्सिर ।
Village of English Writers (VIEW) Chitwan को पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित होटल रिभर क्राउनमा नोभेम्बर २१ र २२ (मङ्सिर ५ र ६ गते) आयोजित दुईदिने सम्मेलनमा साहित्य, सिर्जनात्मकता, शिक्षणशास्त्र र अनुसन्धानका विविध पक्षमा विमर्श गरिएको थियो ।

‘Literature Beyond the Page: Connecting Creativity, Pedagogy, and Research’ मूल विषयवस्तु रहेको सम्मेलनले साहित्यलाई पुस्तकका पानाभित्र मात्र सीमित नराखी जीवन, समाज, सिर्जनात्मकता, शिक्षण र अनुसन्धानसँग जोड्दै यसको व्यापक सामाजिक तथा शैक्षिक महत्त्वमाथि बहस गरेको थियो ।

भ्यु चितवनका अध्यक्ष डा. केशवराज चालिसेको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतराज रेग्मीले गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदी, गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. हेमराज काफ्ले, दिल्ली विश्वविद्यालयका प्रा. डा. उज्ज्वल जाना, सम्मानित व्यक्तित्व प्रा. डा. अमरराज जोशी, संस्थाका संरक्षक एलबी क्षेत्री तथा संस्थापक अध्यक्ष ईश्वर कँडेललगायत विभिन्न शैक्षिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

त्यसैगरी त्यसैगरी त्रिभुवन विश्वविद्यालयका प्राडा भानु कँडेल, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. टीकाराम पौडेल, डा. काशीराज पाण्डे, डा. भरत न्यौपाने, हीरालाल कापर, सुरेन्द्र भट्ट, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सबिन्द्रराज भण्डारी र डा. कोमल फुँयाललगायत प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता थियो । विभिन्न विश्वविद्यालय, क्याम्पस तथा विद्यालयका प्रमुख, प्राचार्य, प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्मेलनमा दिल्ली विश्वविद्यालयका प्राध्यापक डा. उज्ज्वल जाना र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. हेमराज काफ्लेले मुख्य वक्ताका रूपमा विचार प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले साहित्यलाई पाठ्यपुस्तक र लिखित सामग्रीको सीमाभन्दा बाहिर लगेर जीवन, समाज, संस्कृति, सिर्जनात्मकता, शिक्षण र अनुसन्धानसँग जोड्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । साथै समकालीन शैक्षिक परिवेशमा साहित्यको भूमिका र सम्मेलनको मूल विषयवस्तुको सान्दर्भिकताबारे चर्चा गर्नुभएको थियो ।

सम्मेलनको विशेष आकर्षणका रूपमा यस वर्षको युवराज कँडेल स्मृति पुरस्कार प्रा. डा. अमरराज जोशीलाई प्रदान गरिएको थियो । नेपाली भाषा, साहित्य र संस्कृतिलाई अंग्रेजी भाषामार्फत अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पुर्‍याउनुभएको योगदान तथा अंग्रेजी भाषामा साहित्यिक कृति लेखन र अनुवादका क्षेत्रमा गर्नुभएको उल्लेखनीय कार्यको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

सम्मानित व्यक्तित्वको योगदानबारे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कोमल फुँयालले प्रकाश पार्नुभएको थियो । भ्यु चितवनका संस्थापक अध्यक्ष ईश्वर कँडेलले युवराज कँडेल स्मृति पुरस्कारको स्थापना, उद्देश्य र महत्त्वबारे मन्तव्य राख्नुभएको थियो । पुरस्कार ग्रहणपछि प्रा. डा. जोशीले सम्मानप्रति आभार व्यक्त गर्दै मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा भ्यु चितवनका संरक्षक एलबी क्षेत्रीले संस्थाको स्थापनाको सन्दर्भ स्मरण गर्दै भ्युले स्थापनाको १६ वर्ष पूरा गरेको बताउनुभयो । उहाँले स्थापनाकालदेखि नै साहित्य र समाजलाई जोड्ने उद्देश्यले विभिन्न सिर्जनात्मक, साहित्यिक तथा प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । साहित्यलाई सामाजिक रूपान्तरण र बौद्धिक चेतनाको माध्यमका रूपमा विकास गर्न संस्थाले निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ थियो ।

संस्थाका अध्यक्ष डा. केशवराज चालिसेले भ्यु चितवनले नियमित रूपमा राष्ट्रिय तथा प्राज्ञिक स्तरका कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

आगामी दिनमा विभिन्न विश्वविद्यालयसँग सहकार्य र साझेदारी गर्दै साहित्य, शिक्षण तथा अनुसन्धानका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने संस्थाको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा कीनोट स्पिच, प्लेनरी सेसन र दुईवटा समानान्तर (कन्करेन्ट) सेसन आयोजना गरिएको थियो ।
प्लेनरी सेसनमा डा. टीकाराम पौडेल, डा. काशीराज पाण्डे र डा. भरत न्यौपानेले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

समानान्तर सत्रहरूमा साहित्य, भाषा, भाषा शिक्षण, शिक्षाशास्त्र, सिर्जनात्मक लेखन तथा अनुसन्धानका विविध पक्षसँग सम्बन्धित ४० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए ।

काठमाडौं विश्वविद्यालयका एमफिल दोस्रो सेमेस्टरका विद्यार्थीहरूले समेत आफ्ना अनुसन्धानपत्र प्रस्तुत गरेका थिए । यसले अनुभवी प्राज्ञिक व्यक्तित्व र नयाँ पुस्ताका अनुसन्धानकर्ताबीच विचार, अनुभव तथा अनुसन्धान आदानप्रदान गर्ने साझा मञ्चका रूपमा सम्मेलनलाई स्थापित गरेको थियो ।

सम्मेलनको अर्को आकर्षण कविता वाचन तथा साहित्यिक सिर्जना प्रस्तुतिको कार्यक्रम रहेको थियो । भ्यु चितवनका उपाध्यक्ष विश्वराज सुवेदीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा १५ जनाभन्दा बढी साहित्यकार, प्राध्यापक तथा स्रष्टाहरूले आफ्ना मौलिक सिर्जना वाचन गर्नुभएको थियो । यस कार्यक्रमले सम्मेलनको मूल विषयवस्तुलाई सिर्जनात्मक अभ्याससँग जोड्दै साहित्यिक अभिव्यक्ति र अन्तरक्रियाका लागि अवसर प्रदान गरेको थियो ।

सम्मेलनको समापन सत्रको सञ्चालन संस्थाका कोषाध्यक्ष नगेन्द्र तिमिल्सिनाले गर्नुभएको थियो । समापनमा संस्थाका अध्यक्ष डा. केशवराज चालिसेले सम्मेलन सफल बनाउन सहयोग पुर्‍याउने अतिथि, कार्यपत्र प्रस्तुतकर्ता, सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै औपचारिक रूपमा सम्मेलनको समापन गर्नुभएको थियो ।

दुईदिने सम्मेलनले साहित्य, शिक्षण र अनुसन्धानबीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउनुका साथै प्राज्ञिक बहस, अनुसन्धानात्मक चिन्तन, सिर्जनात्मक अभिव्यक्ति र शैक्षिक सहकार्यका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए ।

साहित्यलाई केवल पढ्ने र व्याख्या गर्ने विषयका रूपमा मात्र नभई जीवन, समाज, सिर्जना, शिक्षण र अनुसन्धानलाई जोड्ने सशक्त माध्यमका रूपमा स्थापित गर्ने सन्देशसहित सम्मेलन सम्पन्न भएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट