चितवन, ६ मङ्सिर ।
नारायणी नदी किनारमा दुई महिनादेखि ‘राइनो क्रुज’ बेवारिसे अवस्थामा अलपत्र परेको छ । गत असोज ११ गते आएको बाढीले बगाएर गैँडाकोटतर्फ पुर्याएको क्रुज नदीको पिल्लरमा अड्किएको थियो ।
त्यतिबेला चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रेन लगाएर ‘हुरुरु’ क्रुज तान्ने र तत्कालै निकाल्ने अभिव्यक्ति दिएका थिए । तर, प्रशासनले क्रेन प्रयोग गरेर क्रुज निकाल्न नसकेपछि यसको व्यवस्थापनको जिम्मा सञ्चालकलाई नै दिएको छ ।
क्रुजलाई जस्ताको तस्तै तानेर निकाल्न सम्भव नभएपछि सञ्चालकले टुक्राटुक्रा पारेर हटाउने योजना बनाएका छन् । बाढीले बगाएको दुई महिना बितिसक्दा पनि क्रुज नदी किनारमै अलपत्र छ ।




