तेस्रो पटककाे फाइनलमा सुदूरपश्चिमलाई पहिलो उपाधि, लुम्बिनी १० विकेटले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमका ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए । उनले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रन बनाए । उनले २७ बलमा तीन चौका प्रहार गरे । सुदूरपश्चिमले ३९ बल बाँकी छँदै जित हासिल गरेको थियो ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा सीमित गरेको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए । उनले ३१ बलमा तीन छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३१ बलमा ३० तथा निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे । अली शेखले १२ बलमा २४ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुग्गेलाइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । थारिन्दु रत्नायके, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

फाइनलमा शतक प्रहार गरेका मुन्से प्लेयर अफ द म्याच घोषित भए ।

सुदूरपश्चिमको यो तेस्रो फाइनल यात्रा थियो । यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिमले तेस्रो प्रयासमा भने उपाधि जित्न सफल भयो ।

यसपटक पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो । तर दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै फाइनल पुगेको सुदूरपश्चिमले निर्णायक खेलमा लुम्बिनीलाई हराउँदै उपाधि आफ्नो बनायो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट