हङकङबाट प्रधानमन्त्रीलाई भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

काठमाडौँ, ३ मङ्सिर ।

प्रवासमा रहेर पनि मातृभूमिको राजनीति र विकासक्रमलाई नजिकबाट नियालिरहेका हङकङ निवासी आकाश बञ्जाराले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सम्बोधन गर्दै भावुक खुला पत्र लेखेका छन् । उनले प्रधानमन्त्री पदको गरिमाप्रति उच्च सम्मान व्यक्त गर्दै उमेरको सम्बन्ध र आत्मीयताका आधारमा ‘प्रिय भाइ बालेन’ भनेर सम्बोधन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको पत्रमा बञ्जाराले प्रधानमन्त्री शाहप्रति आफ्नो सम्मान, विश्वास र आत्मीयता व्यक्त गरेका छन् । उनले पद र प्रतिष्ठाभन्दा माथि मानवीय सम्बन्ध, माया र आत्मीयता हुने उल्लेख गर्दै भाइ भनेर सम्बोधन गर्नुमा कुनै अनादर नभई एउटा दाइको मनमा रहेको गर्व र सद्भाव लुकेको बताएका छन् ।

‘प्रधानमन्त्रीको त्यो उच्च पद र गरिमाप्रति मेरो सधैँ शिर निहुराएर उच्च सम्मान छ । तर आज म त्यो पदभन्दा माथि उठेर, उमेरमा मभन्दा सानो भएको नाताले र आत्मादेखिको शुद्ध प्रेमले तिमीलाई प्रिय भाइ बालेन भनेर यो चिठी लेख्दै छु,’ उनले पत्रमा लेखेका छन् ।

आफू कुनै राजनीतिक दलको झण्डा बोक्ने व्यक्ति नभएको र कसैको अन्धभक्तसमेत नरहेको स्पष्ट पार्दै बञ्जाराले स्वतन्त्र नागरिकका रूपमा प्रधानमन्त्री शाहका कामलाई मूल्यांकन गरिरहेको बताएका छन् । उनले आफ्नो जीवनमा कहिल्यै राजनीतिमा नलाग्ने घोषणासमेत पत्रमार्फत गरेका छन् ।

परदेशमा बसेर देशको अवस्था नियाल्दा नेतृत्वमा देखिएको सक्रियता र देशप्रतिको समर्पणले आफू भावुक भएको उनको भनाइ छ । प्रधानमन्त्री शाहको आँट, निःस्वार्थ कर्म र देश परिवर्तनप्रतिको प्रतिबद्धताले आफ्नो मन जितेको उल्लेख गर्दै उनले खुलेर प्रशंसा गरेका छन् ।

‘परदेशको भूमिमा बसेर टाढाबाट देशलाई नियाल्दा, जब एक इमानदार भाइले देशको मुहार फेर्न रातदिन पसिना बगाएको देख्छु, तब मन भक्कानिएर आउँछ,’ बञ्जाराले लेखेका छन् ।

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा देशले सकारात्मक परिवर्तनको दिशा समातोस् भन्ने कामना गर्दै कठिन यात्रामा कहिल्यै विचलित नहुन शुभकामना दिएका छन् ।

पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘I really love you मेरो डियर भाइ बालेन !’ साथै प्रधानमन्त्रीका हरेक पाइलामा करोडौँ नेपालीको आशीर्वाद र साथ रहिरहोस् भन्दै देशको सान बनेर चम्किरहन शुभकामना व्यक्त गरेका छन् ।

राजनीतिक दलगत आबद्धताभन्दा माथि उठेर व्यक्त गरिएको बञ्जाराको यो पत्रले प्रवासमा रहेका नेपालीको देशप्रतिको भावनात्मक सम्बन्ध र नेतृत्वप्रतिको अपेक्षालाई उजागर गरेको छ ।

आकाश बञ्जारा, हङकङ

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट