मिश्राको कीर्तिमानी शतकमा चितवन दोस्रो क्वालिफायरमा

काठमाडौं । श्रीलंकाली ब्याटर कामिल मिश्राको कीर्तिमानी शतकसँगै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले अविजित ३० रन बनाउँदा सहान आराचिगेले २४ रन जोडे । सार्कीले १७ बलमा ३ छक्का प्रहार गरे ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर ४ विकेट लिए । उसामा मिरले १५ रन खर्चेर ३ विकेट लिए । सलाउद्दिन खान र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । चितवनका कामिल मिश्राले अविजित १२० रन बनाउँदै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान बनाए । उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे ।

चितवनका कप्तान रवि बोपाराले पनि अर्धशतक बनाए । उनले ४२ बलमा ५३ रन जोड्दै मिश्रासँग तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए । देव खनालले १५ बलमा १७ रन बनाए ।

काठमाडौंका कप्तान करण केसी र राशिद खानले समान २ विकेट लिए ।

जितसँगै चितवनले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ । पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट