मकवानपुर, २ मङ्सिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ गर्नुभएको छ । ३ दशमलव ४५५ किलोमिटर लम्बाइको यो सुरुङ फास्ट ट्र्याकमा निर्माणाधीन सात सुरुङमध्ये सबैभन्दा लामो हो ।
ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण र विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो ।
विकट भौगोलिक अवस्था, जटिल भूबनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले देखाएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय रहेको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले करिब ७१ किलोमिटर लामो आधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यका र तराई–मधेशबीचको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । यसबाट यात्रा समय र दूरी घट्नुका साथै इन्धन खपत तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत उल्लेख्य बचत हुने उहाँले बताउनुभयो ।
ब्रेक थ्रु कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङ निर्माण चुनौतीपूर्ण काम भएको बताउँदै कमजोर कार्यसम्पादन गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरिने चेतावनी दिनुभयो । उहाँले फास्ट ट्र्याकका प्याकेज नम्बर ९ ए र ९ बीको ठेक्का रद्द गर्न सरकार अघि बढ्ने जानकारी दिनुभयो । कार्यक्रममा दक्षिण कोरिया र चीनका राजदूतलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार ललितपुरको खोकना क्षेत्रबाहेक अन्य क्षेत्रमा अधिकांश काम सम्पन्न भएको छ । खोकना क्षेत्रमा जग्गा विवादका कारण काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
आयोजनाको निर्धारित समयसीमा आगामी चैतसम्म रहे पनि कात्तिक मसान्तसम्म समष्टिगत भौतिक प्रगति ५० दशमलव ५४ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको छ । विभिन्न विवाद र निर्माणमा भएको ढिलाइका कारण निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा चुनौती देखिएको छ । सेनाले पुनः म्याद थपको तयारी गरिरहेको छ ।
तीन सुरुङको ब्रेक थ्रु
कुल ७० दशमलव ९७७ किलोमिटर लामो फास्ट ट्र्याकमा सातवटा सुरुङ निर्माण हुँदैछन् । महादेवटारको ब्रेक थ्रुसँगै हालसम्म तीनवटा सुरुङ छिचोलिएका छन् । यसअघि धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ ।
आयोजनामा देवीचौर (१ किमी), सिसौटार (०.३९ किमी), चन्द्राम भिर (२.२३७ किमी), महादेवटार (३.४५५ किमी), धेद्रे (१.६९१ किमी), लेनडाँडा (१.६३२ किमी) र मौरीभीर (०.५८३ किमी) सुरुङ निर्माण गर्ने योजना छ ।
देवीचौर र मौरीभीर सुरुङको काम भने सुरु भएको छैन । खोकना क्षेत्रको विवादका कारण देवीचौर सुरुङ प्रभावित भएको छ भने भौगोलिक अवस्था संवेदनशील भएकाले मौरीभीरको काम अन्य काम सकेपछि अघि बढाउने सेनाको योजना छ ।
८९ पुलमध्ये ५६ को जग निर्माण सम्पन्न
फास्ट ट्र्याकमा एसियन हाइवे मापदण्डअनुसार ८९ वटा पुल निर्माण हुँदैछन् । ती पुलको दुवैतर्फको कुल लम्बाइ २५ दशमलव ७७ किलोमिटर हुनेछ ।
आयोजनाका अनुसार हालसम्म ५६ स्थानका पुलको फाउन्डेसन, ३८ स्थानका पुलको सबस्ट्रक्चर र १६ स्थानका पुलको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भएको छ । ८९ मध्ये ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई काम अघि बढेको छ भने बाँकी चार स्थानका पुल खोकना क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण प्रभावित छन् ।
फास्ट ट्र्याकमा खोकना, बुदुने र निजगढ गरी तीनवटा इन्टरचेन्ज निर्माण गर्ने योजना छ ।





