मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उनले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए ।
“हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ,” उनले भने ।
यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मनाइएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले उक्त नारालाई राज्य सञ्चालन र आर्थिक विकासको व्यवहारिक आधार बनाउनुपर्ने बताए ।
उनले कर प्रणाली न्यायपूर्ण भए मात्रै आर्थिक असमानता घटाउन, सामाजिक न्याय कायम गर्न र आर्थिक समावेशीकरण प्रवर्द्धन गर्न सकिने धारणा राखे । आर्थिक क्षमता बढी भएका नागरिकले क्षमताअनुसार बढी योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पार्न नहुने उनको भनाइ थियो ।
करको उद्देश्य राज्यको ढुकुटी भर्नु मात्र नभई न्यायपूर्ण र समावेशी अर्थतन्त्र निर्माण गर्नु पनि भएको उनले बताए । नागरिकले तिरेको करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो ।
सरकारको सफलता बजेट खर्चको मात्र नभई सार्वजनिक खर्चले नागरिकको जीवनमा ल्याएको परिवर्तनका आधारमा मूल्यांकन हुनुपर्ने उनले बताए । करदाताले तिरेको रकमबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, सुरक्षा र सार्वजनिक सेवा उपलब्ध हुनुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री थापा मगरले आन्तरिक राजस्व परिचालनलाई आर्थिक आत्मनिर्भरतासँग जोड्दै बाह्य ऋण र अनुदानमा अत्यधिक निर्भरता दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने बताए । प्रदेश र स्थानीय तह आर्थिक रूपमा सक्षम भए मात्रै संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्ने उल्लेख गर्दै उनले वित्तीय अधिकार, स्रोत परिचालन क्षमता र संस्थागत दक्षता आवश्यक रहेको बताए ।
बागमती प्रदेशमा उद्योग, व्यापार, पर्यटन, कृषि, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, निर्माण तथा सूचना प्रविधिमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले ती क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए ।
युवालाई स्वदेशमै रोजगारी र सम्मानजनक आम्दानीको अवसर उपलब्ध गराउनु सरकारको प्रमुख चुनौती रहेको उनको भनाइ थियो । त्यसका लागि कृषि उत्पादनको उचित मूल्य, प्रशोधन र बजारीकरण, उद्योग स्थापनाका लागि सहज वातावरण तथा पर्यटन, सूचना प्रविधि र नवप्रवर्तनमा नयाँ अवसर सिर्जना गर्नुपर्ने उनले बताए ।
निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले उद्योगी तथा व्यवसायीलाई सम्मान, सुरक्षा र नीतिगत स्थिरता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले बदलिँदो डिजिटल अर्थतन्त्रअनुसार कर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । कर तिर्न नागरिकले अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्दै कर कार्यालयलाई सेवा र सहजीकरणको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो ।
राजस्व चुहावट, कर छली र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र उद्यमशीलताको विकासलाई प्राथमिकता दिएर आर्थिक आधार बलियो बनाउने तथा सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने दिशामा काम गरिरहेको जानकारी दिए ।
करदाताको योगदानको सम्मान, निजी क्षेत्रबाट लगानी र रोजगारी सिर्जना तथा सार्वजनिक स्रोतको पारदर्शी उपयोगबाट मात्रै समृद्धिको प्रतिफल सबै वर्गसम्म पुग्ने उनले बताए ।





