भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

काठमाडौं, २ मङ्सिर ।
नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।

राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीमा २० देशका ७० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित आयोजना हुने प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहनेछन् ।

आयोजकका अनुसार प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, मेसिन तथा प्रविधि प्रदर्शन गरिनेछ । आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, कृषि उपजको भण्डारण, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि र उपकरण प्रदर्शनीमा राखिनेछन् ।

प्रदर्शनीको मुख्य उद्देश्य किसानलाई आधुनिक कृषि प्रविधिबारे जानकारी गराउनु, कृषि यान्त्रिकीकरणको प्रयोग विस्तार गर्नु तथा स्वदेशी कृषि उपकरण उत्पादक र व्यवसायीलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा बीउबिजन, कृषि तथा पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक र विक्रेताको समेत सहभागिता रहनेछ । किसानले एउटै स्थानमा विभिन्न प्रविधि तथा उपकरणको जानकारी लिनुका साथै तिनको तुलना गरी आवश्यक सामग्रीबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।

स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल नेपाली उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ । यस्तै, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीलाई स्टलमा ६० प्रतिशत, नामियाका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कृषि उत्पादन लागत घटाउने, श्रम अभावको समस्या न्यूनीकरण गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र किसानको आधुनिक प्रविधिमा पहुँच विस्तार गर्ने विषयलाई प्रदर्शनीले प्राथमिकता दिएको छ ।

प्रदर्शनीले नेपाली किसान, कृषि उद्यमी, कृषि उपकरण व्यवसायी, अनुसन्धानकर्ता तथा नीति निर्मातालाई एउटै मञ्चमा जोड्दै कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिको प्रचारप्रसार र प्रयोग विस्तारमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ । यसबाट नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट